नाजिर र सृष्टिको सिनेमा ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक


काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत दीपेन्द्र गौचनको छ ।

गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ ।

सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ ।

चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको संबादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ । गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ ।

यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका हुन् ।

निर्देशक स्वयं निर्माता रहेको सिनेमामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।