‘छक्का पञ्जा ५’ को दोस्रो गीत सार्वजनिक


काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको ‘ब्रेकअप’ बोलको दोस्रो गीत बुधबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, संगीत र शब्द रचना रहेको छ । यो गीतमा सिनेमाका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई प्रस्तुत छन् । बुधबार सार्वजनिक गीतको भिडियोमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा देखाइएको छ ।

सिनेमामा अन्य कलाकार को-को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी लगायतको अभिनय रहेको खुलिसकेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको सिनेमामा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कपिल पराजुलीको कलर तथा विपिन मल्लको सम्पादन रहेको छ । सिनेमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभार फिल्मस्ले वितरण गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.