चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक


काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ ।

त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ ।

भिडियोमा विजयसँगै चलचित्रका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन् । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।