निश्चल र स्वस्तिमाको ‘छड्के सलाम’ गीतलाई २० लाख भ्युज


काठमाडौं। दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को गत साउन ३२ गते तेस्रो गीत ‘छड्के सलाम’ रिलिज गरिएको थियो । एक कार्यक्रमका बीच रिलिज गरिएको गीतले दर्शकको मन जितिरहेको छ ।

हालसम्म यो गीतले २० लाख बढि दर्शकको साथ पाइसकेको छ । युट्युबमा रिलिज भएको केही दिनमै राम्रो दर्शकको साथ पाएको सिनेमाको गीतले ३५ हजार बढि लाईक र सात सय बढि कमेन्ट पाएको छ । यो गीतले दर्शकबाट मौलिक तथा टिपिकल नेपाली संस्कृतिमा उत्कृष्ट बनेको प्रतिक्रिया पाइरहेको छ ।

सिनेमाको छड्के सलाम गीतमा अभिनेता निश्चल र स्वस्तिमाको जोडी तारिफमा पनि सयौं प्रतिक्रिया आएका छन् । यसले पनि सिनेमाप्रति दर्शकको उत्सुकता उच्च रहेको बुझ्न गाह्रो पर्दैन् । सिनेमाको यसअघि सार्वजनिक गीत पोस्टर गीतले दर्शकमाझ राम्रो हाइप निर्माण गरिरहेका छन् । विवाहको कथामा निर्माण भएको यो सिनेमाले दर्शकलाई पुर्ण मनोरञ्जन दिने विश्वास निर्माण टिमको छ ।

सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।