काठमाडौं । संगीत अनुसन्धान तथा विकास मञ्च नेपाल (एमआरडीएफ) ले नयाँ कक्षा सुरु गरेको छ । नक्सालस्थित बाल मन्दिरमा बस्दै आएका बालबालिकाहरुलाई संगीत अध्यापन गराउँदै आएको यस संस्थाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै नयाँ कक्षा सुरु गरेको हो ।
एमआरडीएफका अध्यक्ष तथा गायक एवं संगीतकार ओम सुनारले भने, ‘हामीले पनि आजदेखि नयाँ कक्षा सुरु गरेका छौँ ।’ यस संस्थाले प्रतिभा भएका अनाथ, दृष्टिविहीन बालबालिका, कैदीबन्दी तथा वृद्धवृद्धालाई नि:शुल्क संगीत शिक्षा प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष तथा संगीत प्रशिक्षक ओम सुनारका अनुसार हाल बाल मन्दिरमा बस्दै आएका बालबालिका मात्रै विद्यार्थी छन् । तर, संगीत सिक्न चाहने अन्य अनाथ, बृद्धा आश्रम र दृष्टिविहीन प्रतिभाहरुलाई पनि कक्षामा सामेल गराइने अध्यक्ष सुनारले बताए ।
काठमाडौंको कमलादीमा कार्यालय रहेको यो संस्था खाशगरी नेपाली मौलिक गीतसंगीतको अध्ययन र जर्गेना गर्ने उद्देश्यले स्थापना भएको हो । तैपनि यस संस्थाले स्थपनाकालदेखि नै अनाथ तथा दृष्टिविहीन बालबालिका तथा बृद्धबृद्धालाई संगीत सिकाउँदै आएको अध्यक्ष सुनार बताए ।
उनले भने, ‘खाशगरी यो हाम्रो संस्था गैरनाफामूलक संस्था हो । हाम्रो संस्थाको मुख्य उद्देश्य भनेको नेपाली मौलिक गीतसंगीतको अध्ययन र जर्गेना गर्नु हो । यसै अन्तर्गत बालबालिकालाई निःशुल्क संगीत शिक्षा प्रदान गर्दै आएका हौँ ।’
गैरनाफामूलक संस्था भएरपनि अनाथ तथा बृद्धबृद्धालाई निःशुल्क संगीत शिक्षा दिन पाउँदा खुसी लागेको उनले बताए । ‘अहिलेसम्म यहाँहरुको साथ, माया र हौसला पाइरहेको छु । त्यसैमा खुसी छु । र, राम्रो काम गरिरहन प्रतिबद्ध छु’ अध्यक्ष सुनार भने, ‘यस्तो राम्रो काम गर्न पाउँदा मेरो सम्पूर्ण टिमलाई पनि धन्यवाद दिन चाहन्छु ।’
देशविदेशमा रहेका मनकारीहरुलाई सहयोगका लागिसमेत उनले आग्रह गरेका छन् । ‘हाम्रो संस्था भनेको सहयोगमा चल्ने हो । आय छैन’ अध्यक्ष सुनारले भने, ‘अहिले संस्थामा संगीत वाद्यवादन सामग्रीहरुको समेत आवश्कता छ । देशविदेशमा रहेका जो कोही मनकारीहरुले हामीलाई सहयोग गर्न सक्नुहुनेछ ।’