(सेलिब्रेटी नेपाल) १२ मंगसिर-राजधानीमा आउँदो शनिबार हुने भारतीय गायक मोहित चौहानको कन्सर्टको तयारी पूरा भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक द प्रिमियर इभेन्टले कन्र्सटको तयारी र चौहानको भ्रमणबारे जानकारी गरायो। कार्यक्रममा गायक चौहानले भिडियोमार्फत् आफू नेपाल आउन लागेको र कन्सर्टमा सहभागिताका लागि नेपालीहरुलाई आह्वान गरे।’हेलो साथीहरु, म मोहित चौहान। तपाईको शहर काठमाडौंमा शनिबार प्रस्तुति दिँदैछु। तपाईहरुलाई त्यहाँ भेट्नेछु,’ भिडियोमा उनले भनेका छन्।
‘गायक चौहान कन्र्सटका लागि बिहीबार नौ जनाको टोलीसहित राजधानी आइपुग्दैछन्। राजधानी बसाइँको क्रममा उनले केही स्थानको भम्रणसमेत गर्नेछन्। सुरक्षाको कारणले भ्रमणको तालिका सार्वजनिक गरेका छैनौं,’ आयोजक द प्रिमियर इभेन्टकी देसल लामाले भनिन्। चौहानलेसाँझ ६ बजे टुँडिखेलको लाइभ कन्सर्टमा आफ्ना गीत प्रस्तुत गर्नेछन्।
चौहान ‘सैनिक श्रीमती संघ’को निम्तोमा राजधानी आउन लागेका हुन्। सैनिक महिलालाई सीप तथा व्यवसायमूलक तालिम दिने भवन निर्माणको सहयोगार्थ रकम जुटाउने अभिप्रायले कन्सर्ट गर्न लागिएको लामाले जनाइन्। कन्सर्टको लागि दिउँसो २ बजेदेखि गेट खुल्ला हुनेछ भने कन्सर्टमा नेपाली गायक निमा रुम्बा, जोइन्ट फ्यामेली इन्टरनेसनल र नेपाली सेनाको ब्यान्डले ४ बजेदेखि आफ्ना गीत प्रस्तुत गर्नेछन्।
‘३० हजार दर्शकले कन्सर्ट प्रत्यक्ष हेर्न सक्नेछन्। च्यारिटी शो भएकोले उठेको सम्पूर्ण रकम सीप तथा व्यवसायमूलक तालिम दिने भवन निर्माणमा खर्च हुने हुँदा ४० लाख उठाउने सोच छ,’ उनले भनिन्। मूल गेटबाट प्रवेश गरेपछि कन्सर्टमा प्रवेश गर्ने गेटबाट सुरक्षामा कडाइ हुने उनले बताइन्।
सुरक्षालाई ध्यानमा राखेर स्टेज निर्माणको तयारी पूरा भएको नेपाल आर्मीका मेजर अभय क्षेत्रीले बताए। ‘स्टेजको पछिल्लो भागमा नेपाल प्रहरीले सुरक्षा दिनेछन् भने नेपाली सेना स्टेज र भित्री भागमा रहनेछन्। कन्र्सटमा टिकट अनुसारका गेटहरु तयार गरिएको छ। वेल्डिङ गरिएकोले एउटा गेटबाट अर्कोमा जान सम्भव हुन्न,’ उनले भने। कन्सर्टमा चुरोट, लाइटर निषेध गरिएको छ। कन्सर्ट स्थलमा फुड स्टलहरु समेत रहनेछन्। फुडस्टल भने ११ बजेदेखि नै खुल्ला हुने आयोजकले जनाएको छ। कन्र्सटको लागि पार्किङको व्यवस्था टुँडिखेल, खुल्लामञ्च र नेपाल आर्मी अफिसर्स क्लबको चौरमा गरिएको छ।
कन्सर्टमा सहभागी हुनका लागि ५ हजार, २५ सय, १ एक हजार र ५ सय टिकट मूल्य राखिएको छ। सन् १९९८ मा ‘सिल्क रुट’ ब्यान्डमार्फत् गायनको औपचारिक यात्रा थालेका मोहितले सन् २००२ मा प्रदर्शित फिल्म ‘रोड’बाट पाश्र्वगायन थालेका थिए। दुईपटक फिल्मफेयर अवार्ड प्राप्त गरेका चौहानका ‘पिलुँ’ ‘सड्डा हक इथ्थे रख’, ‘तुम से ही दिन होता है’, ‘ये दुरियाँ’ जस्ता चर्चित गीतहरु कन्र्सटमा प्रस्तुत गर्नेछन्।
संगीतको औपचारिक ज्ञान नलिएका चौहानले करिब चार दर्जन हिन्दी फिल्ममा आवाज दिएका छन्। ‘माया माया रे’, ‘सर उठा के जिओ’, ‘हार के जग से’, ‘कलाम पोयट्री’ लगायत सातवटा एकल एल्बम सार्वजनिक भइसकेको छ। बलिउडबाहेक उनले तमिल तथा तेलगु फिल्मका गीतहरुमा समेत स्वर दिएका छन्।
नागरिक दैनिक बाट साभार