लोक गायक तिर्थ गन्दर्भको ज्यान विषाक्त रक्सीले लियो


(सेलिब्रेटी नेपाल) ३० भाद्र-राजधानीमा विषाक्त रक्सीका कारण तीन दिनभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार निधन भएका लोक गायक तीर्थ गन्धर्व पनि विषाक्त रक्सीकै सिकार भएको खुलेको छ । विषाक्त रक्सी खाएका धेरै व्यक्ति गम्भीर बिरामी परेका छन् । प्रहरीका अनुसार गायक गन्धर्वको अन्येष्टिमा सहभागी हुन लमजुङबाट आएका आफन्तमा र उनमा देखिएको स्वास्थ्य समस्या उस्तै रहको पाइएपछि उनी विषाक्त रक्सीकै सिकार भएको खुलासा भएको हो । विषात्तः रक्सी सेवन गरेपछि गम्भीर बिरामी भएका गन्धर्वलाई बिहीबार सुरुमा नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो ।

Tirtha-gandharwa

त्यहाँ शय्या अभाव भएपछि उनलाई सैनिक अस्पताल छाउनी लगिएको थियो । उनको प्रारम्भिक परीक्षण मै विषाक्त रक्सी सेवनको लक्षण देखिएको सिभिल अस्पतालले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ । गायक गन्धर्वका आफन्त तनहुँका युवराज गन्धर्व र रामजी गन्धर्वलाई समेत प्रहरीले विषाक्त रक्सी खाएर अचेत भएको अवस्थामा शुक्रबार राति बानेश्वरमा फेला पारेको थियो । उनीहरु तीर्थको अन्येष्टिमा सहभागी हुन काठमाण्डौं आएका हुन् । उनीहरुलाई तत्कालै सिभिल अस्पताल लगेपनि सैय्या अभावका कारण वीर अस्पताल लगिएको थियो । उपचारका क्रममा युवराजको शनिबार बिहान मृत्यु भयो । रामजीको भने त्रिवि शिक्षण अस्पतालमा सघन कक्षमा उपचार भइरहेको छ । उनको अवस्था पनि गम्भिर रहेको छ । सोही क्षेत्रमा अचेत अवस्थामा भेटिएका चतुरे नामले चिनिने एक व्यक्तिको पनि उपचारका क्रममा शुक्रबार सिभिल अस्पतालमा निधन भएको थियो ।