काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु भएको छ । थाईल्याण्डको राजधानी बैंकक शहरमा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब पचास सहभागीको सहभागीतासँगै सुरु भएको प्रतियोगितामा सहभागिहरुलाई उनीहरुको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँंगै प्रतियोगिताले गति लिएको हो ।
अफिसियल स्यासको वितरण प्रतियोगिताका आयोजक संस्था ईप्लानेट सिंगापुर पिटिई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन, नेसनल कस्ट्युम पहिरनको फोटो सुट समेत भैसकेको छ । यसैगरी सहभागिहरु वीच मित्रता, एक अर्काको संस्कृति, परंपरालाई बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कल्चुलरल उपहार आदान प्रदान गर्ने कार्यक्रम पनि भएको छ । प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि संचालन गरिएको छ । जसअन्तर्गत अर्गानिक मलको उपयोगिता र उत्पदान बारे कार्यशाला संचालन गरिएको थियो । कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यस बाहेक कल्चुरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्याण्डको ऐतिहासिक शहर आयुथयाको भ्रमण लगायतको गतिविधि संचालन भइसकेको छ ।
ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाईल्याण्डको बैंकक शहरस्थित ईएससि पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगिहरु विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगीतामा नेपालबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ विजेता आजमा महर्जन र लिलि महर्जन सहभागी छन् । प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतिकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् ।