नारायण रायमाझीको एकल साँझ हुँदै

कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् ।



काठमाडौंँ । लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो । कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो ।

आइतबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो वर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन् ।

‘हामीले अबदेखि हरेक वर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उद्देश्य राखेका छौ । त्यसै अनुरुप यो वर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो’, थापाले भनिन् ।

कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफू छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए । उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे ।

एकल साँझको प्रोमो समेत सार्वजनिक गरिएको कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राजन लम्साल, उज्ज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, प्रेमराजा महत लगायत थुप्रै ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

२०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको थालनी गरेका रायमाझीका भुईंफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन् । रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतका फिल्म निर्माण र निर्देशन गरेका छन् । फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.