काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपाली सँगै नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक छन् ।
सार्वजनिक गीतमा शब्द र संगीत पनि टंककै छ । उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवं अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक–गायिका टंक र अन्नु स्वयंमले अभिनय रहेका छन् ।
गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखी यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखी यो गीतका लापग काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, ‘मैले झण्डै ५० पटकसम्म अभ्यास गरेको थिएँ । सबैभन्दा बढी नेवारी भाषामा स्वर भर्दा समय लागेको थियो ।’
टंक र अन्नुले नेपाली र थारु बाहेक अन्य पाँचवटा भाषाका लागी केही ब्यक्तिहरुसँग अनुवाद सहयोग मागेका छन् । टंकले नेपालमा रहेको विभिन्न भाषालाई प्रवद्र्धन गर्नकै लागी आफूले सानो कदम चालेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् । उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’ गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।