गीतकार प्रमोदको एकल गीति संग्रह ‘चुपचाप मन पराएँ’ सार्वजनिक



काठमाडौं। लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरुको पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौंमा आयोजित एक विशेष समारोहमा लोकार्पण गरिएको छ । गीतकार प्रमोद भट्टराई प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर खिर खाने दिन अर्थात साउन १५ गते सोमबार गीतकार संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त सांगीतिक समारोहमा सुगम संगीतमा आधारित सात वटा गीतहरु संग्रहित उक्त गीति संग्रह लोर्कापर्ण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरु संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा।नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरेका हुन् ।

बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरु संग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । लोकप्रिय गायक राजेशपायल राईले गीतकार भट्टराईको रचनाको पहिलो गीत ‘माया जोख्ने तुलो’ रेकर्ड गरेका थिए । उक्त गीतको लिरिकल भिडियो म्युजिक नेपालको यूट्युब च्यानलमा उपलब्ध छ । यो गीतमा किर्ति न्यौपानेको संगीत छ ।

लोकार्पण गरिएको गीति संग्रह ’चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीतहरु समावेश गरिएका छन् । एल्बममा समावेश गीतहरुमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाहरुको स्वर रहेको छ ।

यी गीतहरुमा संगीतकार किर्ति न्यौपाने (दिवाकर शर्मा) द्वारा संगीतबद्ध छ वटा गीतहरु समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको संगीत निर्देशन छ ।

एल्बममा समावेश गीतहरुलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा बिनोद भुजेलको संगीत संयोजन छ । यी गीतहरु प्रज्ञा स्टुडियो (रेकर्डिष्ट शम्भु तण्डुकार) तथा फाइन ट्यून (रेकर्डिष्ट पुष्कर खत्री) मा रेकर्ड गरिएका हुन् ।

एल्बममा समावेश गीतका म्युजिक भिडियोहरु पनि तयार पारिएका छन् । ती भिडियोहरुलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियोका अंशहरु प्रदर्शन गरियो ।

एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन् ।

संग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’ मा भने गायक प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । रोहित बस्नेत तथा एन्जेला बानियाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । बिनोद बमले यसको भिडियो निर्देशन गरेका छन् । ‘समयले जुरायो’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको संगीत छ । यो गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।

विमोचन समारोहमा गीतकार प्रतीकलाई शुभकामना दिँदै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई पनि विगतमा गीत रचनामा निकै रहर लाग्ने गरेको बताए । आफैंले रचना गरेर गाएको ‘अरबौँ मान्छेको भिडमा’ गीत स्रोताको मनमा बस्न अर्थात लोकप्रिय हुन ३२ वर्ष लागेको स्मरण गर्दै अहिले सांगीतिक क्षेत्रमा सबैभन्दा अन्यायमा पर्ने पक्ष नै गीतकार भएको बताए । रेडियोका कार्यक्रम प्रस्तोताले गीतकार तथा संगीतकारको नामै नलिने गरेको गुनासो गर्दै श्रेष्ठले भने– ‘गीतकारलाई आफ्नो गीतको अत्यन्त माया हुन्छ, संगीतकारलाई पनि उत्तिकै माया हुन्छ, गायकहरुलाई भने गीतको माया नै हुँदैन, थुप्रै गर्लफ्रेण्ड भएको ब्वाइफ्रेण्ड जस्तो । आयो, गायो, पैसा लियो, हिंड्यो ।’

साहित्यकार डा।नवराज लम्सालले गीतकार प्रतीकद्वारा रचना गरिएका गीतहरुको प्रशंसा गर्दै यी गीतहरु कालजयी बन्न सम्भावना बोकेको धारणा व्यक्त गरे ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले नेपाली गीतका सबै गीतकारहरु एकजुट भएर नेपाली सांगीतिक क्षेत्रलाई उचाइमा पुर्याउनु पर्ने धारणा व्यक्त गरे । गीतकार संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटाले गीतकारहरुलाई प्रोत्साहनको खाँचो रहेको औंल्याए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.