एनआरएनए अस्ट्रेलिया चुनावमा नायिका तथा मोडल रोजीको उमेद्वारी



काठमाडौँ। लामो समय देखि अस्ट्रेलिया बस्दै आएकी मोडल तथा व्यवसायी रोजी पन्त एनआरएनए अस्ट्रेलियाको सह–कोषाध्यक्षमा उमेद्वारी दिएकी छिन्। पन्तको निर्णयको गुणस्तरले नै उनको जीवन र अठोटको महत्व दर्शाएका प्रशस्त उदाहरण छन्। त्यसैले त उनी सामाजिक काममा सक्रिय हुने एनआरएनएका लागि दुई बर्षअघि एसीसी सदस्यमा अत्यधिक मतले निर्वाचित भइन्।

एक सद्गुणी महिला ठूला नाम र चमकले उत्प्रेरित हुँदिनन् तर गहिरो बुद्धि र निष्ठाका सहयोगी हातको सहयोगले प्रेरित हुन्छिन्। पन्तका लागि यहि संयोग नै दिनचर्याका रुपमा स्थापित भयो। उनी साथीहरूको निष्ठाको सहयोग र कर्मको यात्रामा निरन्तर सफल छिन्। अब, समुदाय र देशलाई पनि सफल बनाउन सकिन्छ भन्ने धेयले एनआरएनएमार्फत जिम्मेवारीताको अझ बलियो कसीमा उभिने प्रयत्नमा उनी लागिन्।

१५ बर्षअघि अस्ट्रेलियामा उनको पहिलो पाइला परेको थियो। नेपाली समुदायमा संघर्ष गर्दै न्युक्यास्टलमा एउटा व्यावसायीक नाम स्थापनामा पन्त सफल भइन्। ‘नेपालमा नै स्थापित हुनका लागि एउटा महिलाका लागि कति चुनौति होलान्, अस्ट्रेलियामा आएर व्यावसायीक नाम, सामाजिक परिचय र नामसहित योगदान गर्ने साहस जोकोहीले कहाँ सक्छ र?’, उनको उडान देखेका नेपाली समुदायका व्यक्तिहरू भन्छन्,‘हरेक क्षेत्रलाई जान्न सक्ने महिला हुन्। कर्मशील छिन्।’

अर्बिट अस्ट्रेलिया ग्रुप, अर्बिट इनरोलमेन्ट एजुकेशन कन्सलट्यान्सी, अर्बिट होमस्, एनडीआईएस ई केयर प्लस नर्सिङ एजेन्सी स्थापित गरी पन्तले कम्तिमा पनि तीन सय जनालाई रोजगारी दिएकी छन्।

रोजगारीको विषय एकातिर छ, अर्कातिर समुदायमा परेका समस्यामा आर्थिक र सामाजिक रुपमा हातेमालो गरी विद्यार्थीको जीवनलाई सहज बनाउन पन्तले कन्जुस्याँई गरिनन्। उदार भावनाका साथ अगाडि बढेकी उनी भन्छिन्,‘नेपालीका लागि त नेपाली पहिलो प्राथमिकता सँधै रहन्छ। तर मानवका लागि मानवको कर्तव्य पनि कम छैन, भुल्न हुँदैन।’

कोभिडले आक्रान्त पार्दा रोजगारी गुमाएका विद्यार्थीका लागि सहयोग, नेपालमा भएका महाभूकम्पदेखि अनेक पटक देखिएका समस्यामा मल्हम लगाउने चाँजोपाँजो गर्न पनि पन्त पछाडि परिनन्। अग्रपंक्तिमा रहने यस्ता महिला कमै मात्र हुन्छन्।

पन्त मनोरञ्जनात्मक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन्। विदेशमा संस्कृतिको पहिचान गराउन अगाडि रहेकी उनले कतिपय म्युजिक भिडिओमा अभिनय पनि गरेकी छन्।

एनआरएनएमार्फत नेपाली समुदायमा अझ रिझाउनेगरी काम गर्न सक्ने ठानेकी उनी भन्छिन्,‘दुई बर्षअघि नै संस्थागत रुपमा उभिँदा अझ बलियोगरी काम गर्न सकिने ठानेर यस पटक सह–कोषाध्यक्षमा उम्मेदवारी दिएकी हुँ। बाँकी त नेपाली समुदायवासीको प्रेम र सद्भावको अपेक्षा छ। आत्मविश्वास पनि छ।’

पन्त यसअघि पनि एनआरएनए अस्ट्रेलियामा जिम्मेवार पदमा निर्वाचित भई काम गरेकी अनुभवी पात्र हुन्। उनी दुई बर्षअघि एनआरएनए अस्ट्रलियाको एससीसी सदस्यमा भारी बहुमतले बिजयी भई संस्थामा काम गरेकी अनुभवी महिला हुन्।