२५ लाख पुरस्कार पुरस्कार सहित नेपालमै पहिलोपल्ट फूड कम्पिटिशन रियालिटी शो हुँदै



काठमाडौँ। नेपालमै पहिलोपटक खाना पकाउने कलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आगामी मङ्सिरबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा प्रशारण हुने प्रतिस्पर्धाका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने सेफ नेपालका निर्माता धर्मराज पाण्डेले जानकारी दिए ।

रियालिटी शोको प्रारम्भिक उद्घोष गत वैशाखमै गरिएको थियो । ‘त्यसपछि हामीले आन्तरिक तयारी एवं बजार प्रबर्द्धन गर्नुका साथै प्रतियोगीहरूको आवेदन लियौँ’, पाण्डेले भने । उनका अनुसार दुई सयभन्दा बढी आवेदन अनलाइनमार्फत परेकोमा ८० जना छनोट भएका छन् । ‘सेफ नेपाल अन्तर्राष्ट्रियस्तरको खाना पकाउने कलासम्बन्धी शो हो’, निर्माता पाण्डेले भने, ‘सञ्जीव कपुरको खाना खजानालगायतको भारतीय टीभी शोहरू, बीबीसीको मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचनजस्ता विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखीहरूले अब नेपालको आफ्नै आफ्नै कार्यक्रमबाट आनन्द प्राप्त गर्नेछन् ।’

शोको निर्णायकमा सेफ गणेश ढकाल, भान्से लक्ष्मण भण्डारी छन् । अभिनेत्री प्रियङ्का कार्की शो की कार्यकारी निर्माता एवं सेलिब्रेटी जज छिन् । शोको निर्माण डाइरेक्टर सिमोश सुनुवार हुन् । सञ्चालकका अनुसार कार्यक्रमका लागि अनलाइन अडिसनमार्फत प्राप्त भएका आवेदनमध्ये ८० जना छानेर ‘सेफ नेपाल’को युट्युब च्यानलमा प्रशारण गरिएको थियो ।

अनलाइन अडिसन बन्द भइसके पनि समयमै थाहा पाउन नसकेका, आवेदन दिन छुटेका, खाना पकाउन आतुर जोकोहीलाई आवेदन दिन १ हप्ता थप गरिएको सेफ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, प्रोफेसनल सेफले भने आवेदन दिन पाउने छैनन् ।

लाइभ अडिसनसँगै कार्यक्रमको छयाँकन सुरु हुने सञ्चालकले जनाएको छ । अडिसन राउन्ड २ एपिसोड, त्यसपछि इलिमिनेसन राउन्ड ४ एपिसोड, कम्पेटिसन राउन्ड १० एपिसोड र २ फिनाले गरी जम्मा १८ एपिसोड हुने पाण्डेले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.