म्युजिक भिडियो निर्देशक समाजको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



काठमाडौँ। नेपाल म्युजिक भिडियो निर्देशक समाजद्वारा मंगलबार आयोजना भएको ‘विजया दशमी २०७९ शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा नेपाली म्युजिक भिडियोका क्षेत्रमा बिशिष्ट योगदान पुर्‍याउनुहुने तीन जना निर्देशकहरुलाई सम्मान प्रदान गरियो भने संरक्षक तथा सल्लाहकारहरु र साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप बिशिष्ट सम्मान गरिएको हो । समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु बरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव बि.क. र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति, बरिष्ठ कलाकार हरिहर शर्माले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गरे । शर्माले म्युजिक भिडियोको महत्व दर्शाउँदै भने, ‘सानो होस् या ठुलो चलचित्र होस् या म्युजिक भिडियो होस् यि सबैको उत्तिकै महत्व छ । यदि हामीले चलचित्रबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रुपमा हेर्न सकिन्छ । तसर्थ हामीले यसबारेमा गम्भीर भएर सोच्नुपर्छ ।’

शर्माले कलाका विभिन्न विधाहरुलाई एकिकृत गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । ‘प्रस्तुति कलाका सबै माध्यमको उद्देश्य आफ्नो कथा भन्ने हो, यसमा जुन जुन विधाहरु छन् सामूहिक रुपमा काम गर्नुपर्छ । यि सबै एक अर्कामा अन्योन्याश्रित छन् । अलग अलग बाटो हिड्यो भने स्थायित्व पाउन असम्भव हुन्छ’, शर्माको भनाई थियो ।

समाजका अध्यक्ष विधान कार्कीले संस्थाको महत्व र आवश्यकताबारे प्रष्ट पारेका थिए । नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनिहरुका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको उनको भनाई थियो । म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको कार्कीले बताए । कार्यक्रम संयोजक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी दिईन् भने प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डेले संस्था स्थापनाको यात्राबारे जानकारी गराए ।

२०७८ श्रावण २७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को पहिलो निर्वाचित कार्यसमितिद्वारा आयोजित कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, चलचित्र निर्देशक दीपाश्री निरौला, नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल लगायतले शुभकामना व्यक्त गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.