बिनाको ‘जीवनका अनुभूतिहरु’ कृतिको लोकार्पण



काठमाडौँ। ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरु’को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रवार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, अभिनेत्री दीपिका प्रसाईंलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् ।

आफ्नो कृतिको दोस्रो संस्करण बजारमा ल्याउन पाएकोमा लेखिका पोखरेलले खुसी व्यक्त गरिन् । उनले पुस्तकमा जागिरे जीवनमा भोगेका कठिनाई, परिवारिक विचलन, क्यान्सरसँगको लडाईंलगायतका कुरालाई उतारेकी छन् । यो पुस्तकले महिलाहरुलाई आत्मविश्वास, अडिग र निडर हुन प्रेरित गर्ने उनको विश्वास छ । पुस्तकमा घरभित्रको कुरालाई पनि जस्ताको त्यस्तै लेखेकाले धेरैले आफूलाई हत्तोसाही बनाउने काम समेत गरेको उनको भनाई छ ।

कलाकार मदनकृष्ण श्रेष्ठले बिना पोखरेलको पुस्तकले महिलाहरुलाई आत्मविश्वासी बनाउने धारणा राखे । श्रेष्ठले भने- ‘मानिसले आत्मवृतान्तमा जीवनका सबै कुरा खोल्नुपर्छ भन्ने लाग्छ । बिना पोखरेलले कुनै पनि कुरा नलुकाई किताबमा लेख्नुभएको छ । म उहाँको त्यो हिम्मतको सरहना र सम्मान गर्छु । यो किताबले समाजमा सकारात्मक सन्देश छर्नेमा विश्वस्त छु ।’

दुई सय पृष्ठको ‘जीवनका अनुभूतिहरु’ कृतिको पहिलो संस्करणलाई बराहारोहा इन्भेष्टमेन्ट ग्रुपले प्रकाशन गरेको थियो भने दोस्रो संस्करणको प्रकाशक साहित्यिक पत्रकार संघ हो । लेखिका बिना आफ्नो कृतिको तेस्रो संस्करण पनि चाँडै प्रकाशित हुनेमा विश्वस्त छिन् । कृषि विकास बैंकमा सामान्यस्तरको कर्मचारीबाट सेवा सुरु गरेकी पोखरेल सेवा निवृत्त हुँदा दशौं तहको विभागीय अधिकृत थिइन् ।

२०१० साल फागुन २८ गते न्यूरोड, काठमाडौंमा जन्मिएकी पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट एमए गरेकी गरेकी छन् । उनी सनातम धर्म समिति अन्तर्गत मातृशक्तिको पूर्व अध्यक्ष, बराहारोहा इन्भेष्टमेन्ट ग्रुपको सञ्चालकलगायत विभिन्न संस्थाहरुसँग पनि आबद्ध छिन् । उनी पछिल्लो समय सन्तानसँग अमेरिकामा बस्दै आएकी छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.