पुस्तक ‘सात जुनी’ बिक्रीबाट आएको सबै रकम समाज सेवामा



काठमाडौँ। उपन्यासकार मणि नेपाली पनेरुले आफ्नो पुस्तक ‘सात जुनी’को बिक्री वितरणबाट प्राप्त सम्पूर्ण रकम समाजसेवामा लगाएका छन् । शनिवार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पनेरुले गत महिना लोकार्पण भएको उक्त पुस्तकको बिक्रीबाट प्राप्त रु. एक लाख हस्तान्तरण गर्दै माइती नेपालीको संस्थापक एवं सिएनएन हिरो अनुराधा कोईरालाको हातबाट हेमा पनेरु अध्यक्ष तथा कलाकार अविनाश न्यौपाने उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहने गरी ‘सात जुनी विकास कोष’को घोषणा गरे ।

हाल संयुक्त राज्य अमेरिका बस्दै आएका गोरखा जिल्लाको सौरपानीमा जन्मिएका पनेरुले सौरपानीलाई नै आधारविन्दु बनाई त्यहाँमा तमाम समस्या समाधानमा विकास कोषले काम गर्ने बताए । ‘यस पुस्तक बिक्रीको सम्पूर्ण रकम मेरो जन्मभुमी सौरपानीको विकासमा सदुपयोग गर्ने निर्णय भएकोले यो कोषको घोषणा गरेको छु । यो प्रयास मेरो मातृभूमि नेपाल प्रतिको सङ्लो मायाले प्रेरित छ र म नेपाललाई प्रेम गर्छु भन्ने साङ्केतिक सत्कार्य हो’, पनेरुले भने ‘विश्वव्यापी सोचौं र स्थानिय रुपमा काम गरौँ भन्ने यो मेरो एक सन्देश पनि हो ।’

विकास कोषको घोषणा गर्दै कोईरालाले काठमाडौँमा बसेर गाउँको कुरा गरेर चुनावको बेला मात्र मुख देखाउन गएर गाउँ समाजको विकास नहुने बताईन् । ‘मणि नेपाली पनेरु जी देशमा नबसेतापनि जानु अगाडी जुन समिति बनाएर काम गर्न छोडेर जाँदै हुनुहुन्छ त्यो समितिले समाजको खास समस्या के हो भन्ने पहिचान गरी इमान्दारीपूर्वक गाउँमै पुगेर काम गर्नेछ भन्ने विश्वास लिएकी छु । हामी चुनाव आउँदा मात्र गाउँ गएर त्यहाँका समस्या पहिल्याउन सक्दैनौँ’, उनले बताईन् । कसैसँग सहयोग लिनुपर्यो भने जहिले पनि गरिब देश भनेर माग्ने गरेको देखेको तर हामी कदापि गरिब नभएको उनले जिकिर गर्दै हामीले आफुलाई गरिबको रुपमा चिनाउन नहुने उनले बताईन् ।

गत महिना पनेरुद्वारा लिखित चार कृतिहरु उपन्यास ‘सात जुनी’, बालकविता संग्रह ‘हाम्रो झन्डा’, गीती संग्रह ‘स्वर्गको गाथा’ र कविता संग्रह ‘मुटु हराएको मान्छे’ एकसाथ लोकापर्ण गरिएको थियो । यि चार कृति मध्ये ‘सात जुनी’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम विकास कोषमा राखिने छ भने अन्य दाताहरुबाट प्राप्त रकम समेत कोषमा जम्मा गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.