काठमाडौं – इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली…’ शीर्षकमा ।
वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुवालाई सरप्राइज दिन गाएकी थिइन्, तर गीतले नेपाली संगीतकर्मीहरुसहित दर्शक तथा स्रोतालाई नै आश्चर्यमा पारिदियो ।
१५ वर्षीया गायिका आइशा डोटेलको चौतर्फी प्रसंशा भयो । उक्त गीतका शब्दहरु अष्ट्रेलियामै बसोबास गर्ने प्रगती देवकोटा न्यौपानेले रचना गरेकी थिइन् भने संगीत दिएका थिए प्रगती,आइशा तथा प्रशान्तले ।
भिडियो बनाएका थिए सञ्चारकर्मी दीपेश श्रेष्ठले । उक्त गीतको भिडियो यूट्युबमा झण्डै पाँच लाख पटक हेरिएको छ । आईशा डोटेल, प्रगती देवकोटा न्यौपाने तथा दीपेश श्रेष्ठसहितको सोही समुहले यतिबेला अष्ट्रेलियाबाटै एउटा नयाँ गीत यूट्युबमार्फत सार्वजनिक गरेको छ, यसपटक पनि यो समुहले सांगीतिक क्षेत्रमा केही सरप्राइज दिएको अनुभव गरेको छ ।
यसपटक पनि प्रगती देवकोटा न्यौपानेको शब्दमा आइशा डोटेल तथा प्रमिला राईले एउटा गीत गाएका छन्- ‘लिसन टु मि’ शीर्षकमा । यो गीतलाई संगीतकर्मी सञ्जीव सिंहले संगीतबद्ध गरेका हुन् भने दिनेश श्रेष्ठले यसलाई संगीत संयोजन गरेका छन् ।
दीपेश श्रेष्ठले यो भिडियो निर्देशन गर्नुका साथै भिडियोको छायांकन तथा सम्पादन पनि उनैले गरेका छन् । भिडियोमा विशेष शेरचनको सह–निर्देशन छ ।
गीतकार प्रगति देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ । आमा–छोरीको हरेक दिनका क्रियाकलापहरु गीतमा चित्रण गरिएका छन् ।
हरेक आमाहरु आफ्ना किशोरी छोरीहरुप्रति चिन्तित भएजस्तै यो गीतमा पनि एउटी आमा उनकी छोरीप्रति चिन्तित छिन् । छोरीले गलत बाटो नसमातुन् भन्ने कुरामा आमा चिन्तित छिन् । आमा चाहान्छिन्, उनकी छोरीले उनका कुरा सुनुन् , सधैं सुरक्षित रहुन् तथा उज्वल भविष्यतर्फ अग्रसर हुन् ।
विगत १६ वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार प्रगती देवकोटा न्यौपाने गायिका आइशाकी आन्टी हुन् । वेस्टर्न सिड्नी यूनिभर्सिटी तथा यूनिभर्सिटि अफ सनसाइन कोस्टमा अध्यापन गराउने प्रगती महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन् । उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन् ।