पाल्पामा कोभिड–१९ बारे चेतनामूलक छोटो चलचित्र निर्माण


सुशील नेपाल
पाल्पा । पाल्पामा कोभिड–१९ बारे चेतनामूलक छोटो चलचित्र निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रीनगर युवा रेडक्रस सर्कल पाल्पाले ‘कोभिड १९’ सम्बन्धि चेतनामूलक छोटो चलचित्र (सर्ट मुभी) निर्माण गरेको हो ।  केही दिनअघि राइजिङ नेपालीको युट्युबमार्फत छोटो चलचित्र सार्वजनिक गरिएको छ । देश कोरोना भाइरससँग जुधिरहेको अवस्थामा कोरोनाका कारण समाजमा देखिएका घटनाहरुलाई समेट्दै छोटो चलचित्रमार्फत सचेतना दिने प्रयास गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, श्रीनगर युवा रेडक्रस सर्कलका अध्यक्ष सुवास गैरेले कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा आफूहरुले समाजमा चेतना जगाउने उद्धेश्यले सानो प्रयासस्वरुप छोटो चलचित्र निर्माण गरेको बताएका छन् ।

कला दाहालको कथा लेखन रहेको यस छोटो चलचित्रमा सुदर्शन पाण्डे, सौरभ सापकोटा, अरुण कार्की, तिर्थराज लम्साल, विनोद भारती, मनिसा गैरे, सृजना न्यौपाने, सृजना पाण्डे, अनुसा शाक्य, सृजना बस्याल, सचिन सिलवाल, विजय पाल्पाली, सौरभ उचै लगायतले अभिनय गरेका छन् ।

१४ मिनेटको छोटो चलचित्र हेरेपछि धेरैले यसको प्रशंसा गरेका छन् । कतिपयले राष्ट्रिय स्तरबाट गर्नुपर्ने काम स्थानिय स्तरमा युवाहरुबाट भएकोमा खुशी लागेको युट्युबमा प्रतिक्रिया दिएका छन् ।

छोटो चलचित्रलाई मनिष अर्यालले खिचेका हुन भने सुदर्शन पाण्डेले सम्पादन गरेका हुन् ।

यसको निर्माणमा ज्ञानेन्द्र अटो वर्क तानसेन, त्रिपूत्र ईन्टरनेशनल–होण्डा शोरुम तानसेन, होटल डायमण्ड तानसेनले सहयोगी भूमिका खेलेका छन् ।