नायिका बेनिशा हमालसंग संगीत वार्ता : गीत गाउने रहर छ तर त्यत्तिकै हाम फाल्दिन


सेलिब्रेटी नेपाल

काठमाडौँ: बेनिशा हमाल नेपाली चलचित्रकी नायिका हुन् । उनले झण्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । बेनिशाको नयाँ चलचित्र ‘घर’ आउँदो साउनको ३ गतेबाट प्रदर्शनमा आउँदैछ । सेलिब्रेटी नेपालले यीनै बेनिशासंग छोटो संगीत वार्ता गरेको छ ।

गीत कत्तिको सुनुहुन्छ ?

गीत सुन्न मनपर्छ । सुनिरहेकी हुन्छु ।

कुन समयमा गीत बढी सुन्नुहुन्छ ?

गीत सुन्ने समय भन्ने हुँदैन् । बिहान, साँझको समयमा गीत सुनिरहेकी हुन्छु । एक्लै हुँदा पनि गीत सुनिरहेकी हुन्छु ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम चलाउँदा कसैले नयाँ गीतहरु पोष्ट गर्नुभएको छ भने त्यो पनि सुन्छु/हेर्छु ।

तपाईलाई कस्ता गीत मनपर्छ ?

मलाई अलिकति मेलोडियस गीतहरु बढी मनपर्छ । गीतको लिरिक्सले पनि महत्व राख्छ ।
जे पायो त्यही लिरिक्स भएको भन्दा पनि लिरिक्सले छुनेखालको मेलोडी हुनुपर्छ ।

मन परेको पछिल्लो गीत कुन हो ?
पछिल्लो समय मेलिना राई र हरि लम्सालको ‘परानै दिन्छु’गीत सुनेकी/हेरेकी थिए । यो गीत असाध्यै मन पर्यो । लिरिकल्ली पनि असाध्यै राम्रो, भिजिवल्ली पनि राम्रो लाग्यो । गीतमा दयाहाङ राई दाई र लक्ष्मी वर्देवाले गर्नुभएको अभिनय पनि असाध्यै मनपर्यो ।
यो भन्दा अगाडी चलचित्र ‘कागजपत्र’को ‘माया संसार’ भन्ने गीत सुनेकी थिए । त्यो पनि असाध्यै मन परेको थियो ।

मनपर्ने गायक–गायिका चाँही को–को हुनुहुन्छ ?
मलाई बच्चैदेखी उदीतनारायण झा मनपर्छ । चलचित्रमा थुप्रै रोमान्टिक गीतहरु उहाँले गाउनुभएको छ । उहाँको स्वरमा भिन्नै जादू भएजस्तो लाग्छ । उहाँको हरेक गीत सुन्दा मन्त्रमुग्ध भएर सुन्छु । गायिकामा श्रेया सोताङ मनपर्छ । तर उहाँका आजभोली गीतहरु नै आएका छैनन् । पछिल्लो समय भने मेलिना राईको गीत मनपर्छ । उहाँका जतिपनि गीतहरु आएको छ कर्णप्रिय लाग्छ । हरेक गीतमार्फत स्रोतालाई तान्न सक्ने क्षमता भएकी हुनुहुन्छ ।

गीत सुन्नेसंगै गुनगुनाउँने चाँही कत्तिको गर्नुहुन्छ ?

गीत गगुनगुनाउँछु पनि तर वाथरुममा मात्रै (हाहाहा…) । अनि आफू एक्लै हुँदा पनि गीत गुनगुनाउँछु । त्यस्तै धेरै मानिसहरुको माझमा जहाँ आफ्नो आवाज दविन्छ, अरुले नोटिस गर्दैनन् त्यो बेलामा पनि गीत गुनगुनाउँछु ।

गायिका बन्ने रहर त छैन् ?

सबैले गाएको देख्दा कहिलेकाँही म पनि गीत गाउँकी जस्तो लाग्छ । तर त्यो भनेर मात्र हुँदैन् ।
गीत गाउन पनि साधना चाहिन्छ, मेडिटेसन चाहिन्छ । मलाई रहर हो, तर रहर लाग्यो भन्दैमा त्यत्तिकै हाम फाल्दिन् । भविष्यमा गीत गाइहाले भने, संगीतका बारेमा बुझेर, क्लास लिएर मात्र गाउनेछु ।