हङकङमा साम्तेनको ‘च च हुई’


सेलिब्रेटी नेपाल

काठमाडौँ:साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो चलचित्र ‘च च हुई’ को छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ टोलि प्रस्थान गरेको थियो । ‘लेटर’,’तान्द्रो’,’अनागत’ , ‘सुस्केरा’ र ‘साढे सात’ निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल चलचित्र निर्देशन गरिरहेका छन् । हरेक चलचित्रमा कथावस्तु फरक भएता पनि उनले उस्तै प्रकृतिको चलचित्र निर्देशन गरिरहेको आरोप उनलाई यदाकदा लाग्ने गरेको थियो , त्यसैले पनि उनले यसपटक भिन्न किसिमकै चलचित्र निर्देशन गरिरहेका छन् ।

नर्थ पोइन्ट , जोर्डन , गार्डेन हिल लगायतका रमणीय स्थानमा चलचित्रको छायाँकन भइरहेको छ । फिल्मको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल , माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् । त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ , मिरुना मगर , बबिता मल्ल लगायतको अभिनय रहेको फिल्मको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टिम हङकङ पुगेको हो ।

त्यसपछि नेपाल आएर फिल्मको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो भने यसलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । ‘यसपटक कमर्सियल चलचित्रको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘चलचित्र मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’ चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।