‘लव स्टेशन’ मा जम्ने भो प्रदीप र जसिताको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने चलचित्र ‘लभ स्टेशन’ को शुभ मुहुर्त गरिएको छ। चलचित्रको सोमबार विहान पशुपति मन्दिरमा शुभ मुहुर्त गरिएको हो। सिनेमाको छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट हुनेछ। यसको लागि चलचित्रको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दैछन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन्।

उज्वल घिमिरेले निर्देशन गर्ने चलचित्र लव स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ। ५० दिनको छायंकन तालिका रहेको चलचित्रमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहनेछ। लिलिविलीमा प्रदीप खड्का र जसिता गुरुङ संगको जोडिलाई रुचाएका थिए। आफ्नो जोडि र चलचित्रको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताए।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ। दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्। लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।