सेलिब्रेटी नेपाल काठमाडौँ
निर्देशक बिकासराज आचार्य भन्न बितिक्कै ‘नाई नभन्नु ल’ सिरिज जो-कोहि नेपाली दर्शकले स्मरण गर्न सक्छन । तर, दुर्भाग्यनै भन्नुपर्छ, पाचौँ भागसम्म आइपुग्दा झट्ट याद आउने पहिला दुई संस्करण मात्र हुन् ।
नेपाली फिल्म उद्योगमा प्रेमकथानक चलचित्रबाट दर्शकको मन जितिरहेका बिकासले अहिले ‘नाई नभन्नु ल’ सिरिजलाई गुणस्तर भन्दा गुणात्मक बनाइरहेका छन् । र, यहाँनेर उनि कलात्मक भन्दा व्यावसायिक बनिरहेका छन् । पाचौँ भागसम्मको यो यात्रामा ‘नाई नभन्नु ल’ सिरिजले आफ्नो लोकप्रियता गुमाउदै छ ।
गीत/संगीतको सिरिज
‘नाई नभन्नु ल’ कुरा गर्दा यसको सांगीतिक पाटोलाई बिर्सनै मिल्दैन । किनकी, ‘नाई नभन्नु ल’ सिरिजलाई यहाँसम्म तान्ने मुख्य मेरुदण्ड यसको संगीत पक्ष नै हो । यसमा पनि बिस्तारै गिरावट हुँदैछ । कुनै समय यो सिरिजका संगीत चार्ट बस्टरको शिर्ष स्थान हुने गर्दथे । अहिले यो भागमा राम्रो छ की, भनेर खोज्नु पर्ने हुन्छ । तर, दर्शकलाई अघिल्ला भागको जस्तो स्तरीय संगीतको भोक अहिलेका भागले मेटाउन सकिरहेका छैनन् । तेस्रोदेखि पाचौँ भागसम्म यसका संगीत औसत छन् ।
बोरिङ कथाको सिरिज
प्रेमकथानक चलचित्रको सिरिज भएतापनि पहिलो भागको जस्तो राम्रो कथा पछिल्ला भागमा दर्शकले हेर्न पाएका छैनन् । कुनै बेला ‘नाई नभन्नु ल’ सिरिजमा काम गर्ने प्राय: कलाकारको इछ्या हुन्थ्यो । पाचौँ भागले यो प्रमाणित गरिदिएको छ, की ‘नाई नभन्नु ल’ सिरिजप्रति दर्शक मात्र होइन कलाकारको पनि रुचि घट्दैछ । यो सिरिजमा मुलत चलेका कलाकार छैनन् । बरु निर्देशकले पुराना कलाकार निरुता सिंह र दीलिप रायमाझीलाई लिएर उनीहरुको लोकप्रियता क्यास गर्न खोजेका छन् । त्यो पनि एक झल्कोमा ।
दोस्रो सिरिजदेखि बाल प्रेमकथालाई आत्मसाथ गरेको सिरिजले, त्यो ह्याङबाट आफुलाई मुक्त गर्न सकिरहेको छैन । जो दर्शक चाहन्छन । पाचौँ भागसम्म पुग्दा यसको कथा नौटंकी लाग्छ । यात्रा लामो भएपनि यसले स्मरणीय बन्न नसक्दा ‘नाई नभन्नु ल’ हेर्नु र नहेर्नुले फरक पार्दैन ।
बक्स अफिसमा गिरावट !
पहिलो भाग बक्स अफिसमा सेमी हिट भएपछि निर्देशक आचार्यले दोस्रो भाग दर्शक माझ ल्याए । सुरिलो संगीत र पहिलो पटक बाल प्रेमकथालाई पर्दामा उतार्दा ‘नाई नभन्नु ल २’ बक्स अफिसमा सफल भयो । पहिलोको लोकप्रियता क्यास गर्दै दोस्रो भागको सुरुवाती बक्स अफिस आँधीमा परिणत भयो । तर, संगीत छोडेर ‘नाई नभन्नु ल’ सिरिजले यहिँबाट लोकप्रियता गुमाउन सुरु गर्यो ।
तेस्रो भागले बक्स अफिसमा रेकर्ड राख्ने अनुमान गलत सावित भयो र सेमी हिट मै चित्त बुझाउनु पर्यो । ‘नाई नभन्नु ल’ सिरिजबाट डेब्यु गरेर निर्देशनमा सफलताको उचाई नाप्ने मुस्कान ढकालको योजनामा तुसारापात छायो । अन्तत: अहिले निर्देशक ढकाल गुमनाम जस्तै छन् ।
तेस्रो भागको अप्रत्यासित बक्स अफिस पिडालाई लुकाउदै आचार्यले चौथों भाग बनाए । यो बक्स अफिसको पहिलो असफल भाग बन्न पुग्यो । ‘नाई नभन्नु ल ४’बाट पल शाह, आँचल शर्मा र वर्षा राउतजस्ता कलाकारको उदय भएपनि यिनीहरुको लागि डेब्यु चलचित्र सम्झनलायक रहेन । किनकी, यी कलाकारले हिट सिरिजको फ्लप संस्करणबाट अभिनय यात्रा थालनी गरेका थिए ।
यस्तै यस सिरिजको पाचौँ इन्स्टलमेन्ट भदौ ८ मा रिलिज हुँदैछ । न्यून चर्चाका बीच रिलिज हुन लागेको चलचित्रले बक्स अफिसमा सुखद नतिजा ल्याउने कमैको अनुमान छ ।
पाचौँ भागको पत्तो छैन !
रिलिजलाई केहि दिन टाढा रहँदा दर्शक ‘नाई नभन्नु ल ५’बारे दर्शक अनविज्ञ नै छ । कमजोर प्रचार-प्रसार, खस्किदो लोकप्रियताले यसप्रति रुचि कम भएको छ । निर्देशकले प्रचारमा जोड दिएर सिरिजको साख जोगाउनु पर्ने ठाउँमा मौन छन् । जो चलचित्रबारे निर्देशक, कलाकारलाई प्रवाह छैन । त्यसलाई दर्शकको के प्रवाह ?
अब निर्देशक आचार्यले ‘नाई नभन्नु ल’ सिरिजमा अर्को भाग थप्नु परेमा राम्रै गृहकार्य गर्नुपर्ने देखिन्छ । होइन भने यो सिरिजलाई यहिँ बन्द गर्दा हुन्छ । नत्र भने कुनै दिन ‘नाई नभन्नु ल’ सिरिज सम्झदा दर्शकले नाक खुम्च्याउनु पर्ने दिन नआओस ।