दुई दशक लामो सांगीतिक यात्रामा विधान


सेलिब्रेटी नेपाल काठमाडौँ
विधानले यस्ता गीत गाएका छन्, चाहेरै कहिल्यै ओझेल पर्दैनन् । सधैँ गुन्जिरहन्छन्, संगीतप्रेमीको गितारको धुनसँगै हुर्किए, विधान श्रेष्ठ । १७ वर्षको उमेरमा पहिलो गीत ‘जलन…’ रेकर्ड गरे । १८ वर्षमा ‘बुहारी झारझैँ लजालु…’ गीतले जनमानसमा परिचित गरायो । त्यसपछि ‘ब्याक टू ब्याक’ हिट गीत दिए, ‘आज नाच्छे मेरी गौरी…’, ‘सोल्टिनी भनी बोलाको…’, ‘ज्ञानबहादुर छोरो…’, ‘कालापानीमा…’ आदि आदि । तर, बच्चादेखि बूढापाकासम्मका सदाबहार प्रिय यी गायकले जीवनका ४२ वसन्त पार गरेपछि मात्र आफ्नो आवाज प्रत्यक्ष सुनाए । त्यो स्वर्णिम संयोग जुरेको थियो, १२ जेठमा । श्रुतिमधुर आवाज र गायन शैलीका धनी विधानले प्रतिष्ठित स्वदेशी सांगीतिक मञ्च पलेँटीमा आफूलाई पस्किएका हुन् ।

जबकि, पछिल्लो दुई दशकमा नेपाली संगीतमा आएको सबैभन्दा ठूलो ‘फेसन’ नै कन्सर्ट हो । कलाकारको आय र दर्शकसँगको सामीप्य दुवै हकमा । तर, विधान कहिल्यै यो हुलमा मिसिएनन् । किनभने, ट्रयाक बजाएर, हातमा माइक समाएर अनि ठिंग उभिएर गाउन ज्यादै नीरस लाग्छ, उनलाई । शालीन दर्शक र वाद्यवादकको बीचमा गाएपछि मात्र आँत भरिन्छ रे उनको । गीतले पनि जीवन पाउँछ । भन्छन्, “म मुखले मात्र गाउन सक्दिनँ । गीत त मेरो आत्माको आवाज हो ।” तर, ‘फास्टफुड’को बोलवाला रहेको यो जमानामा यस्ता स्तरीय कार्यक्रम कहाँ हुनू र ? सोही कारण बरू गाएनन् तर गीतप्रतिको आफ्नो सम्मान डगमगाउन दिएनन् ।

खासमा यही गुण नै विधानको पहिचान र सामथ्र्य हो । लहड र लहरको पछि कहिल्यै दौडिएनन्, आफ्नोपनाप्रतिको आत्मविश्वासले भरिए सधैँ । संगीत पैसा र ख्याति कमाउनेभन्दा साधनाको साथी भइदियो । र, यसो हुनुमा उनको आफ्नै सांगीतिक पृष्ठभूमिले भूमिका खेलेको छ ।

गीतकार/संगीतकार विजय श्रेष्ठका पुत्र हुन्, विधान । सुनसरीको इनरुवामा जन्मिए । त्यहीँ हुर्किए । घरको माहौल हरपल संगीतमय । विजय कोठामा रियाज गर्थे, त्यसको धुन गुञ्जन्थ्यो आँगनमा खेलिरहेका विधानको कानमा । बुबाकै पहलमा इनरुवामा सांगीतिक कार्यक्रम रोजै हुन्थ्यो । दार्जीलिङ, कालिङपोङ, विराटनगर, धरानबाट कलाकार आउँथे । अनि, रिहर्सलचाहिँ विधानकै घरको बैठक कोठामा । ती कार्यक्रममा आमा हीरा श्रेष्ठ पनि गाउँथिन् । मावली घर धरान जाँदा साँझ परेपछि मामाहरू गितार बोकेर गुनगुनाउन थाल्थे । ती दिन यसरी सम्झन्छन् उनी, “पूरै सांगीतिक माहौलले घेरिएको थिएँ । गीत र वाद्यवादन त मेरो दैनिकीजस्तै । अनि, म पनि नगाइरहन सक्थेँ होला र ?” गाउन त गाउँथे त्यतिबेला तर लजाई–लजाई । छोरामा खुबी देखेरै हुनुपर्छ, एसएलसी सक्नासाथ विजयले काठमाडौँ पठाइदिए गितार सिक्न ।

एक वर्ष गितार सिके । त्यसपछि मूर्धन्य संगीतकार अम्बर गुरुङसँग शास्त्रीय संगीत सिक्न थाले । विजयको वजनदार संगीतको ‘लिगेसी’ छँदै थियो, गुरुङको सानिध्यले सुनमा सुगन्ध छर्‍यो । गुरुङका गुरुमन्त्रहरू अझ पनि विधानको कानमा गुञ्जिरहन्छ, ‘हतारमा गीत रेकर्ड गरेर सस्तो चर्चा बटुल्न नखोज्नू’, ‘थोरै तर अब्बल गीत गाउनू’, ‘दैनिक एक घन्टा अभ्यास गर्नू’, ‘एक लाइन गाएपछि मुखले होइन, नाकले श्वास लिनू’ इत्यादि । गुरुङसँग राग सिक्न नपाए पनि तीन वर्ष सरगम सिके । जे सिके, त्यही व्यवहारमा उतारे । शब्द चयन र गायनमा निकै संवेदनशील यी गायक सुनाउँछन्, “म आज जे छु, सबै बुबा र अम्बर सरको देन हो ।” उनी किन पनि यसो भन्छन् भने प्रगतिको हरेक पाइलामा यी दुई स्रष्टाको भूमिका अतुलनीय छ ।
गुरुङसँग संगीत सिक्न थालेपछि नै हो, विधानले ‘बुहारी झारझैँ…’ गीत रेकर्ड गराएको, बुबाको तीव्र इच्छामा । ४० वर्ष पहिले विजयले यही गीत गाएर रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए तर रेकर्ड गरेका थिएनन् । उनको चाह थियो, छोरोले गाइदेओस् । यो प्रसंग हो, संवत् ’५० को दशकको सुरुआततिरको । जतिबेला नेपाली संगीत पश्चिमा पपको ज्वरोले आक्रान्त थियो । हरिश माथेमा, भीम तुलाधर र सुनील उप्रेतीहरूको जगजगी थियो ।

भर्खरै यौवनले भर्भराइरहेका विधानमा पनि पप गीतै गाउने हुटहुटी सवार भयो तर बुबाले ‘बुहारी…’ नै रेकर्ड गर्न लगाए । जम्मा एक दिनमा त्यो पनि लाइभ म्युजिकमा रेकर्ड भएको यही गीतले आखिरमा विधानलाई रातारात हिट बनायो । अहिले हुँदो हो त ‘भाइरल’ भनिन्थ्यो होला । गितारसँग मादल, सांरगी, मुर्चुंगा र किबोर्डको संयोजन नौलो भइदियो । त्यसमाथि विधानको वैधानिकताप्राप्त स्वर । “त्यतिबेला मैले त्यो गीतको गहिराइ र सामथ्र्य बुझ्न सकिनछु,” विधान स्वीकार्छन्, “यसपछि त मेरो संगीतप्रतिको बुझाइ बदलिएन मात्र, मेरो आफ्नो छुट्टै पहिचान बन्न थाल्यो ।”

त्यो पहिचान कस्तो भने युवापिँढीले बेवास्ता गरेका शब्द र वाद्यवादनलाई विधानले आत्मसात् गरे, न कि चलिआएको ‘ट्रेन्ड’ । ‘आज नाच्छे मेरी गौरी…’ यसकै प्रमाण हो । आफ्नी प्रियसीलाई फुर्काइएको यो गीतको सुरुआती धुनले नै प्रेमिल माहौल सिर्जना गर्छ । ‘ज्ञानबहादुर छोरो…’ विधानको करिअरमा कासेढुंगा साबित भएको अर्को गीत हो । त्यतिबेला राष्ट्रप्रेमले ओतप्रोत भएको गीत बुढेसकाल लागेपछि गाउनुपर्छ भन्ने सोच व्याप्त थियो, युवापुस्ता लाज मान्थे तर विधान श्रेष्ठलाई के मतलब ? मनले चाह्यो, गाए । राष्ट्रिय झन्डा बोकेर भिडियोमा देखापरे । नभन्दै यो गीत तन्नेरी कलाकारमाझ ‘ट्ेरन्ड सेटर्स’ नै भयो । त्यसपछि नै हो, हरेक एल्बममा एउटा राष्ट्रिय गीत राख्ने चलन सुरु भएको ।

गितारको लहर चलेको त्यो समयमा ‘यो नानीको सिरैमा…’को भिडियोमा मादल बजाएर देखापरे । थोरैले अचम्म माने । धेरैले औधि रुचाए । लाग्छ, अरूले नगरेको काममा घोटिइरहनु नै विधानको विधि र निधि दुवै हो । उनी गितारलाई जति माया गर्छन्, सांरगीलाई त्यत्तिकै सम्मान । ड्रम र मुर्चुंगा उत्तिकै प्रिय । गीत पनि हिट, भिडियोमा पनि देखापर्ने । त्यसपछि त के चाहियो, जहाँ गए पनि क्रेजी फ्यानले घेरिन्थे । हङकङ र दार्जीलिङबाट पनि चिट्ठीको ओइरो लाग्थ्यो । त्यसो त उनका अधिकांश हिट गीत यस्ता छन्, जसलाई बाबुले खेतको डिलमा बसेर गितार बजाउँदै कम्पोज गरेका थिए । विधान हाँस्दै भन्छन्, “बुबाले बनाउँदै राखेका गीतहरू मैले छानी–छानी गाउने सौभाग्य पाएँ । यसरी बुबा र मेरो भावना जोडिएका यी गीतहरू दर्शक/श्रोताले पनि आत्मसात् गरे ।” उनका बाबु विजय उनै हुन्, जसले दीप श्रेष्ठले गाएका ‘म पत्थरको देवता होइन…’, ‘साइली बरै चियाबारीमा…’ जस्ता कालजयी गीत रचेका थिए ।

कलात्मक शैलीमा आफ्नो अधिकार मागिएको गीत ‘माछी मार्न जाऔँ न दाजै कालापानीमा…’ ०५७ मा रेकर्ड भएको थियो तर तत्कालीन सरकारले मिडियामा पूरा बन्देज लगायो । दोस्रो जनआन्दोलनपछि मात्र मिडियामा एक्कासि हिट भयो । ‘सोल्टिनी भनी बोलाको…’ रेडियो नेपालमा लोकगीतमा संगृहीत थियो । मान्छेहरूले बिर्सिसकेका थिए । तर, विधानले त्यसमा गितार प्रयोग गरे र आफ्नोपना मिसाएर गाए । ह्वात्तै हिट भयो । अरूले रि–रेकर्डिङको बहानामा गीतको मिठासलाई मार्छन् तर विधानले पुरानो गीतलाई आधुनिकीकरण गरे पनि त्यसको मूलभाव मर्न दिँदैनन् । बरू त्यो गीतलाई पुनर्जन्म दिन्छन् र आमश्रोतासम्म पुर्‍याउँछन् । नेपाली संगीत वृत्तमा उनको कद अग्लो हुनुको गुह्य कारण हो यो ।

यतिबेला उनी रेडियो नेपालबाट कार्टेज बिग्रिएर बज्न छाडेका, हराएका र अहिलेका पुस्ताले सुन्न नपाएका गीत ‘रि–रेकर्डिङ’ गर्दै छन् । तुलसी दिवस, चेतन कार्की र एलपी जोशीले संकलन गरेका गीत क्रमैसँग रेकर्ड गर्न लागिपरेका विधान भन्छन्, “हतार छैन तर गीतको स्तर गुम्न दिन्नँ ।” र, यति परिपक्व र चर्चित भइसक्दा पनि हरेक गीत रेकर्ड गर्नुभन्दा पहिले बुबाको सल्लाह लिन्छन् ।

दुई दशक लामो सांगीतिक यात्रामा विधानका यो योवन (०५०), बेस्ट अफ विधान (०५३), पुरानो मायालाई (०५५), जात्रा हाँडी गाउँको (०५७), साइन (०६१), एकता नै बल (०६३) र कायम (०६३) गरी सात एल्बम सार्वजनिक भए । कुनै सुपरहिट भए, कुनै ठीकठाक मात्र चले । तर, उनको सांगीतिक गति र शैली उस्तै । मौलिकता र आफ्नोपनाबाट कहिल्यै विचलित भएनन् । यत्ति हो कि, क्यासेट बिक्न छाडेपछि वर्षमा एक–दुई गीत मात्र रेकर्डिङ गर्न थाले । अनि, कन्सर्टमा नझुल्किने भएकाले कतिपयलाई छायामा परेको भ्रम पर्‍यो । फेरि उनी सामाजिक सञ्जाल फिटिक्कै चलाउँदैनन् । तर, यथार्थचाहिँ के हो भने विधानले यस्ता गीत गाएका छन्, चाहेरै कहिल्यै ओझेल पर्दैनन् । सधैँ गुन्जिरहन्छन्, संगीतप्रेमीको कानमा । किनभने, संगीतका खहरे भेल होइनन् उनी । अथक साधक हुन् ।
नेपाल साप्ताहिक बाट जस्ताको तेस्तै