सेलिब्रेटी नेपाल काठमाडौँ
हास्यकलाकार हरिवंश आचार्य देशदौडाहामा निस्किएका छन् । तर, उनले प्रहसन देखाउने छैनन् । विभिन्न सहरमा पुगेर उनले आफ्ना फ्यानसँग भलाकुसारी गर्नेछन् र आफ्नो उपन्यास ‘हरिबहादुर’को प्रवद्र्धन गर्नेछन् ।
काठमाडौंको ग्रान्ड होटेलमा शुक्रबार कलाकार मदनकृष्ण श्रेष्ठले हरिवंश र किताबयात्राका समूहलाई बिदाइ गरे । मदनकृष्णले भने, ‘पुस्तक लेखिन्छ, तर त्यसलाई बजारमा पु-याउने काम त्यति व्यवस्थित रूपमा गरिँदैन । यस यात्राले पुस्तकलाई पाठकसम्म पु-याउन महत्वपूर्ण काम गर्छ भन्ने लाग्छ ।’
‘चिना हराएको मान्छे’ झैँ ‘हरिबहादुर’ पनि सफल हुने विश्वास उनले व्यक्त गरे । ‘हरिबहादुरको प्रकाशनपछि उपन्यासलेखनमा अर्को लहर आउँछ भन्ने मलाई विश्वास छ,’ उनले थपे ।
प्रकाशनगृह फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले आफूहरू विगतमा पनि ‘बुक टुर’मा गएको, तर यसपालिको ‘टुर’ अलि भिन्न हुने प्रस्ट्याए । ‘एउटा बस र एउटा ट्रकसहित १६ जनाको टिम लिएर व्यवस्थित तरिकाबाट किताबयात्रा गरिएको यो सम्भवतः नेपालमा पहिलो हो,’ नीरजले दाबी गरे ।
पठनसंस्कृतिलाई व्यावसायिकतासँग जोड्ने प्रयासका रूपमा आफ्नो किताबयात्रालाई चिनाए, लेखक बनेका हरिवंशले । ‘यात्रामा मैले पूर्वदेखि पश्चिमसम्मका पाठकसँग प्रत्यक्ष संवाद गर्नेछु । यो मेरा लागि नौलो अनुभव हुनेछ,’ उनले भने ।
‘हरिबहादुर किताबयात्रा’ पोखरा, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, चितवन, बिर्तामोड, विराटनगर, धरान र सिन्धुली गरी ११ ठाउँमा हुनेछ । यात्राको अवधि १४ दिनको हुनेछ ।
नयाँ पत्रिका बाट जस्ताको तेस्तै