राज के गोस्वामीको ‘हिमालै राम्रो हिउँले’ (भिडियो)



काठमाडौं। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक राज के गोस्वामी आफ्नो बिल्कुलै नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्ट सहितका कार्यक्रमहरु आयोजना गर्दै आएका गायक गोस्वामी यसपटक ‘हिमालै राम्रो हिउँले’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् ।

‘कोशिश २’ शीर्षकको एल्बममा समावेश भएको यो गीतलाई विक्रम थापाले संगीतबद्ध गरेका छन् भने सुमन कुँवर यो गीतका रचनाकार हुन् । सन्दिप कार्कीले प्रस्तुत गीतमा संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा नौलो प्रयोग गरिएको छ । नेपाली गीतका म्युजिक भिडियोमा यस्तो प्रयोग विरलै देख्न पाइन्छ । गीतलाई पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ । भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्समार्फत नै प्रस्तुत गरिएको छ । भिडियोलाई बिजेश पौडेलले नै निर्देशन गरेका छन् भने भिएफएक्स तथा सम्पादन पनि उनैले गरेका हुन् । निशा पौडेलद्वारा छायांकन गरिएको उक्त भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो ।