विश्व यात्रा गर्दै ‘द भ्वाइस अफ नेपाल’ का उत्कृस्ट चार प्रतिस्पर्धी


सेलिब्रेटी नेपाल

काठमाण्डौ: नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवर्द्धन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले यही मार्च ६, २०२० देखि विश्वका चार देशमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । बेलायत, युरोप, क्यानडा र इजरायलमा हुने म्यूजिकल टुरमा गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को सिजन–२ का अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका अन्तिम प्रतिस्पर्धीहरुले चार देशमा दिन लागेको प्रस्तुतिको बारेमा इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले जानकारी गरायो । मार्च ६ बाट सुरु हुने विश्व यात्रामा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु राना मगर, यन्की यल्मो सहभागी हुनेछन् । भने, कार्यक्रमको उद्घोषण सुशिल नेपालले गर्नेछन् ।

मार्च ३ देखि मार्च २३ तारिखसम्म बेलायतमा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का अन्तिम चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् । त्यस्तै, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरालमा सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले बताए । उनका अनुसार, बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै, क्यानडामा ४ वटा र इजरेलमा १ वटा सांगीतिक कार्यक्रम हुने बताइएको छ ।

चार देशमा हुने कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने पनि अध्यक्ष पराजुलीले घोषणा गरे । कार्यक्रममा स्नेहा आश्रमका अध्यक्ष तथा कलाकार सुलेमान शंकर ‘इकु’ पनि उपस्थित थिए । सामाजिक कार्यमा योगदान गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्न सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको ब्लु वर्डका अध्यक्ष पराजुलीको भनाई छ ।

वर्ल्ड टुरको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का विजेता राम लिम्बुले पहिलो पटक सांगीतिक कार्यक्रमका लागि विदेश जान लागेकोमा खुसी व्यक्त गरे । उनले दर्शकको माग अनुसार कार्यक्रममा गीत गाउने बताए । सनिष, अनु र यन्कीले पनि वर्ल्ड टुरलाई लिएर उत्साहित रहेको बताए । उनीहरुले अन्तर्राष्ट्रिय मञ्चमा गाउने गीतको कपी राइट्सको विषयमा सम्बन्धि संस्थासँग छलफल गर्ने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले जानकारी दिए ।