निफमा बलिउड निर्देशक अनुराग



काठमाडौं। आउँदो २३ गतेदेखि सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रि फिल्म फेस्टिभलमा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले मास्टरक्लास दिने भएका छन् । निफका अध्यक्ष केपी पाठकले विज्ञप्ति जारी गर्दै उनले उद्घाटनको दिन अर्थात २३ गते दिउसो ३.३० बाट ४.३० सम्म फिल्मको बारेमा बोल्ने जानकारी गराएका छन् । सो दौरान उनले सिनेमा सम्बन्धी आफ्ना अनुभवहरू बाँड्ने छन् ।

भौतिक रुपमा नै आयोजना गर्ने गरी तयारी सुरु गरेको फेस्टिभलले केही दिन अघिसम्म हाइब्रिड मोडलमा सञ्चालन गर्ने बताएको थियो । तर, फेस्टिभलको दिन नजिकँदै जाँदा कोभिड–१९ को दोस्रो लहरले छपक्क छोप्न थालेपछि फेस्टिभल अनलाइन मोडलमा गएको थियो । केपी पाठकले फिल्मको प्रदर्शन तथा अन्तक्र्रियाहरू नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ गरिने जनाएको छ ।

अनुराग कश्यप बलिउडका ‘अटर’ निर्देशक मानिन्छन् । लेखकको रुपमा बलिउड करिअर सुरु गरेका उनले ‘सत्या’, ‘शूल’, ‘युवा’ जस्ता फिल्मको पटकथा तथ संवाद लेखेका थिए । उनको डेब्यू निर्देशन रहेको ‘पाँच’ले हलको मुख देख्न नपाए पनि सन् २०१२ मा रिलिज भएको ‘ग्याङ्स अफ वासेपुर’का दुई सिरिजबाट उनले चर्चा पाएका थिए ।

यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता फिल्मको निर्देशन गरेका थिए । निर्माणमा पनि उत्तिकै सक्रिय उनले नेटफ्लिक्समा रिलिज भएका ‘सेक्रेड गेम्स’, ‘लस्ट स्टोरिज’ आदि फिल्म तथा सिरिजको निर्माण गरेका थिए । फेस्टिभल २७ गतेसम्म चल्नेछ ।