‘मेरोे भ्वाईस कप यूएसए र मेरो डान्स कप यूएसए’को औपचारिक घोेषणा



काठमाडौँ। अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा आज काठमाडौंको एक पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोेजना गर्दै गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा पत्रकार सम्मेलनको आयोजना गर्दै गरिएको हो ।

यो दुबै रियालिटी शोेलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले गर्न लागेको हो । फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’कोे निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् ।

कार्यक्रममा बोल्दै फाउन्डेशनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संकृतीको संरक्षण र प्रवद्र्धन गर्दैै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संकृतीको जागरुकता ल्याउनु रहेको पनि बताए ।

अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परपम्परा, भाषा, रितीथिती नछाडेको बताए । यही सोेचका कारण २ रियालिटी शो सुरु गरिएको अधिकारीको भनाई थियो ।

अधिकारीले ‘मेरो भ्वाइस कप २’को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए । यो फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रम आयोजना हुनु अगाडि त्रिभुवन विमानस्थलमा अमेरिकाबाट आएका कलाकार तथा आयोजकको टिमलाई भव्य स्वागत गरिएको थियो । नायक दिलिप रायमाझी, रमित ढुंगाना, नृत्य निर्देशक शंकर वीसी लगायतलाई भव्य स्वागत गर्दै कार्यक्रम आयोजनास्थलसम्म पुर्याइएको थियो ।