मेलम्चीका संरचना पुननिर्माण गर्न अभिनेता मल्लको संयोजकत्वमा समिति गठन



काठमाडौं । बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ ।

शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले समिति गठन गरेको हो । उक्त समितिले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ ।

बाढीले बगाएको बस्तीलाई सुरक्षित स्थानमा बसाल्न, भत्किएका विद्यालय र पुलको पुननिर्माण गर्न कलाकारहरुले औद्योगिक घराना, गैरआवसीय नेपाली र आफ्ना फ्यानहरुलाई आह्वान गर्ने भएका छन् । बैठकमा सिन्धुपाल्चोक जिल्ला विकास समिति सभापति कृष्णगोपाल तामाङ, मेलम्चीका मेयर डम्बरबहादुर अर्याल, कलाकारहरु जितु नेपाल, चेतन सापकोटा, श्वेता खड्का, कृष्ण ढुंगाना सहभागि थिए । थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्नेछ ।