अभिनेता राजेश हमाल बिबादमा,हमालको पुत्ला जलाइयो



काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम विवादमा तानिएको छ । नेपाली समाजमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्दै आएको कार्यक्रम ‘जातका प्रश्न’ मा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।

क्रिस्चियनको लगानीमा निर्माण भएको कार्यक्रममा हिन्दूहरुलाई बदनाम गर्ने काम भएको भन्दै हिन्दू समर्थकहरुले हमालको विरोध गर्दै राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

हमालले ‘जातका प्रश्न’ कार्यक्रम छाडेर हिन्दू समाजसँग माफी माग्नु पर्ने र ८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गराउनु पर्ने हिन्दू समर्थकहरुको माग छ ।

हिन्दूहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातका प्रश्न’ निर्माण गरिएको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह नराखेको बताएको छ । राजेश हमालको फोटोलाई दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाएकोप्रति पनि फाउन्डेसनले ध्यानाकर्षण भएको जनाएको छ ।