सेलिब्रेटी नेपाल काठमाडौँ
पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे । सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू…पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।पुस्तक लोकार्पण पछि सो कथासँग्रहमाथि अन्तरक्रिया आयोजना गरियो ।
पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र सँग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरुमा नयाँ प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अबस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए । डब्बु क्षत्रीले कथामा आफ्नो छुट्टै पन बनाएको पनि यज्ञशले बताए । समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिँगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरु सबै बर्गका लागि लेखिएको बताए ।
उपन्यासकार जया ओझाले अन्तरक्रियामा बोल्दै नमस्ते काठमाडौंका कथाहरु यौनमा केन्द्रित भएर पनि पटक्कै अश्लिल नभएको बताईन् । तर कथाहरुलाई शिर्षकमा बर्ग नछुट्याई कुन कथा कुन बर्गको हो भनेर छुट्याउने जिम्मा पाठकलाई नै दिएको हुन्थ्यो भनिन् । तथापि कथाले जो कोहीको मन छुने पनि उनले बताईन् ।
नमस्ते काठमाडौंका लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो सँग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा कथाकार क्षत्रीले व्याख्या गरे । समाजमा जे देखेको त्यही घटनालाई कथामा बुनेको पनि उनले बताए । नमस्ते काठमाडौंका प्रकाशन सँस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नयाँ प्रयोग आफुले नमस्ते काठमाडौंमा पाएकोले यो सँग्रह प्रकाशन गरेको बताए । सँग्रह एक साता अघि बजारमा पठाएको र पाठकबाट सोचे भन्दा राम्रो प्रतिक्रिया आएको जानकारी गराउँदै बिक्री पनि उत्साहजनक रुपमा भएको छ भने । सँग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ राखेको पनि उनले जानकारी गराए ।