सेलिब्रेटी नेपाल काठमाडौँ
दोलखा स्थित डाँङडुँगेडाँडामा अन्तर्रा्ष्ट्रियस्तरको चलचित्र नगरी बन्ने पक्का भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ ।
आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ ।
वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले जानकारी दिए ।
ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो । चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६.२५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ । स्थानीयवासी जितबहादुर श्रेष्ठले फिल्म सिटीका लागि थप जमिन दिनसमेत तयार भएको जानकारी दिए ।