सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रको बजार सानो छ । बजार सानो भएकै कारण मोटो रकम खर्चेर चलचित्र बनाउन निर्माताहरु डराउँछन् । व्यापारिक घरानालाई नेपाली चलचित्र उद्योगले आकर्षित गर्न सकेको छैन । चलचित्र बनाएर मात्रै पनि हुँदैन । राम्रो समय पारेर प्रर्दशन गर्न सकिएन भने पनि चलचित्रले लगानी नै उठाउन नसक्ने निर्माता तथा वितरकहरू नै बताउँछन् ।
नेपाली चलचित्र नगरीमा फिल्म बनाउन भन्दा पनि प्रदर्शन गर्न गाह्रो हुने गरेको समाचार बाक्लै रूपमा बाहिर आउँछन् ।
यसै विषयवस्तुलाई आधार मानेर थुप्रै कथानक चलचित्र बनिसकेका छन् । तर, पनि समस्या ज्युँका त्यूँ छ । निर्माता तथा वितरकले चाहेको मितिमा चलचित्र प्रदर्शनमा ल्याउन त झनै गाह्रो छ ।
चाडबाड तथा नयाँ वर्षमा चलचित्र प्रदर्शनमा ल्याउन त झनै कठिनाइ छ । यसमा पनि यही मितिमा निर्माता तथा वितरक आकर्षित हुनेगरेपछि झनै समस्या हुने गरेको छ ।
हुन त पछिल्लो दशक नेपाली चलचित्र निर्माणमा आएको बढोत्तरीसँगै नयाँ वर्ष र चाडपर्व मात्रै होइन अरु दिन पनि आशा गरिएका चलचित्र नै एकै दिन लाग्ने गरेका छन् ।
यद्यपि अझै पनि धेरैको रोजाई दसैं, तिहार, माघे सक्रान्ति, वैशाख १ अर्थात् नेपाली नयाँ वर्ष नै हुनेगर्छ । आउँदो वैशाख एकलाई पनि धेरैले आँखा लगाए । तर, प्रदर्शनमा भने तीनवटा चलचित्र मात्रै प्रदर्शनमा आउने भएका छन् ।
‘लब लब लब’, ‘घाम पानी’, र ‘राधे’ ले वैशाख एक गते प्रदर्शन हुँदैछन् ।