निर्देशक जनकदिप अन्तरराष्ट्रिय ब्रान्डमा


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली मोडलिङ क्षेत्रका चर्चित मोडलहरुले एक विदेशी ब्रान्डको विज्ञापनमा मोडलिङ गरेका छन् । यूकेको उडल्याण्ड ब्रान्डले तयार पारेको स्पोर्ट सुजको विज्ञापनमा नेपाली मोडलहरुले मोडलिङ गरेका हुन् ।
नेपालको तर्फबाट विज्ञापनको निर्देशन गरेका निर्देशक जनकदिप पराजुलीले भने-‘हामीलाई नेपाली ब्रान्डले पत्याएन, तर विदेशी ब्रान्डले पत्यायो ।’२ महिना लामो मिहिनेतपछि जनकदिपले १ दिनमा २ प्रकारका विज्ञापन खिचेका हुन् । सुरुमा यसको छायांकन भारतमा गर्ने र मोडल पनि भारतीय नै राख्ने प्रस्ताव विज्ञापन कम्पनीले गरेको थियो । तर, नेपाली मोडल र नेपालको लोकेशन हेरिसकेपछि कम्पनी नेपाली मोडल राखेर नेपालमै खिच्न सहमत भएको थियो ।
dipika-prasai
लिन्टाज इन्डिया एजेन्सीले ग्याप इन्टरटेन्मेन्टलाई विज्ञापन तयार गर्ने जिम्मा दिएको थियो । ग्याप नेपाली मोडल राखेर नेपालमै आएर विज्ञापन खिच्न तयार भएको हो । मुडेको खरिढुंगामा २ शैलीका विज्ञापन खिचिएको हो । नेपालतर्फका निर्देशक जनकदिप पराजुलीले भने-‘जुत्ताको विज्ञापन भएकाले हामीले स्पोर्ट कन्सेप्टमा विज्ञापन खिचेका छौ ।’

तयार भएका २ विज्ञापनमध्ये एकमा मोडल दीपक घिमिरेले काम गरेका छन् । यस्तै, अर्कोमा मोडलद्धय दीपिका प्रसाइ र भाष्कर बाँनियाले काम गरेका छन् ।
अमेरिकाको ‘कुटर फेशन न्यूयोर्क’मा सहभागी भैसकेका दीपक अन्तरराष्ट्रिय मोडल हुन् । यस्तै, दीपिकाले चलचित्र ‘ऐश्वर्या’मा मुख्य भूमिका निर्वाहा गरिरहेकी छिन् । यता, भाष्करले ‘पूने फेशन विक’मा र्‍याम्प शो गरिसकेका छन् ।

५० जनाले विज्ञापनमा मोडलिङ लागि अडिसन दिएका थिए । जसमध्ये, ३ मोडलले अडिसनबाट छानिएर यो अवसर पाएका हुन् । जनकदिप भन्छन्-‘यसले अब, नेपाली मोडलहरुलाई पनि विदेशी ब्रान्डका विज्ञापनमा काम गर्ने अवसर खुलेको छ । यो विज्ञापन भारत र विभिन्न अंग्रेजी च्यानलबाट प्रशारण हुनेछ ।’