मनोनयनमा नै मनोमानी ! नेपाली एवार्डहरु विवाद नै बिबादमा


सेलीब्रेटी नेपाल काठमाडौँ
डी सिने अवार्डको विधागत उत्कृष्ट पाँचको मनोनयनमा मनोमानी शैली देखिएको छ। यतिसम्म कि गत वर्षको चर्चित फिल्म ‘पशुपति प्रसाद’ लाई नै काँधमा बोकेका अभिनेता खगेन्द्र लामिछाने उत्कृष्ट पाँचमै अटाएनन्।
Khagendra-lamichane
समीक्षकबाट समेत राम्रो प्रशंसा बटुलेका उनलाई राष्ट्रिय अवार्डकै हकदारका रूपमा हेरिएको थियो। भलै, दयाहाङ राईले ‘कबड्डी कबड्डी’ बाट उक्त अवार्ड हत्याएका थिए। खगेन्द्र अटाउन नसकेको अभिनेतातर्फको उक्त विधामा आर्यन सिग्देल (क्लासिक), दयाहाङ (कबड्डी कबड्डी), सौगात मल्ल (फन्को), प्रदीप खड्का र निखिल उप्रेती (भैरव) सम्म परेका छन्।

२५ विधाका लागि निकालिएको मनोनयनमा ‘कबड्डी कबड्डी’ उत्कृष्ट पाँच फिल्ममा नै परेन। जब कि सोही फिल्मबाट निर्देशक र पटकथासँगै अभिनेता, चरित्र अभिनेता र चरित्र अभिनेत्रीसमेत उत्कृष्ट पाँचमा अटाएका छन्। निर्देशन, पटकथा र अभिनय तीन विधा नै उत्कृष्ट पाँचमा पर्दा ‘कबड्डी कबड्डी’ उत्कृष्ट पाँच फिल्ममै अटाएन। बरु उक्त विधामा ‘क्लासिक’, ‘ड्रिम्स’, ‘पशुपति प्रसाद’, ‘प्रेमगीत’ र ‘वडा नम्बर ६’ परे। ‘ड्रिम्स’ कथा र पटकथा दुवै विधामा उत्कृष्ट पाँचमा समेत पर्न नसके पनि फिल्ममा भने तानिएको छ। त्यसो त बलिउड फिल्मको झल्को दिलाउने भए पनि ‘भैरव’ बाट निखिल उप्रेती उत्कृष्ट कथाकारमा परेका छन्। निखिलले अभिनेता, कथाकार र नवनिर्देशक तीनै विधामा मनोनयनको हयाट्रिक हानेका छन्।

नेपालमा वर्षेनी दर्जनबढी फिल्म अवार्ड आयोजना हुने गर्छन्। प्राय: अवार्डहरू विजेता घोषणा क्रममा विवादमा आउने गरे पनि डी सिने अवार्डले नोमिनेसनमै विवाद निम्त्याउने काम गरेको देखिन्छ। अवार्डमा आयोजकको ‘राम्राभन्दा हाम्रा’ को पक्षपोषण गर्ने रोग पुरानै छ।

जसले गर्दा तानतुन पार्ने प्रवृत्ति हाबी हुने गर्छ। यसपटक मनोनयनमा मनोमानीका सिलसिला नवअभिनेत्रीमा पनि देखियो। अवार्डका अध्यक्ष शान्तिप्रिय नै निर्णायक रहेको फान अवार्डले केही साताअघि मात्रै ‘क्लासिक’ बाट रोमी घिमिरेलाई सहअभिनेत्रीमा अवार्ड नै दिएको थियो। तर डी सिनेमा भने रोमी सोही फिल्मबाट नवअभिनेत्रीतर्फको विधामा पारिइन्।

सहअभिनेत्रीतर्फ अनु शाह (धौली), अशिष्मा नकर्मी (अधकट्टी), नन्दिता केसी (चंखे शंखे पंखे), सुरविना कार्की (सुश्री) र हर्षिका श्रेष्ठ (लुटेरा) ल्याइएको छ। सहअभिनेतातर्फ पनि मनोनयन चित्तो बुझ्दो देखिँदैन। ‘होस्टेल रिटन्र्स’ मा मुख्य पात्रलाई नै छायामा पार्ने गरी चरित्रमा जमेका नाजिर हुसेन अटाउन सकेनन्। जब कि उक्त विधामा कामेश्वर चौरसिया (रेशम फिलिली), जितु नेपाल (वडा नम्बर ६), प्रमोद अग्रहरि (चंखे शंखे पंखे) का साथमा सलोन बस्नेत (लब सब) र सुशान्त कार्की (सपना तिम्रो मेरो) परेका छन्।

कतै प्रचलनमा नआएको आइटम डान्स विधासमेत समेटिएको छ, डी सिने अवार्डमा, जब कि आइटम डान्स कुनै विधा होइन। गतवर्ष रिलिजमा आएका फिल्मबाट उत्कृष्ट पाँच घोषणा गरिए पनि सांगीतिक रूपमा हिट भएको फिल्म ‘परदेशी’ को नामोनिसान देखिएन। आयोजकले प्रेषित गरेको विज्ञप्तिमा निर्णायक समिति, अवार्डका लागि सहभागी हुन आएका फिल्मबारे केही उल्लेख गरेको छैन। गतिला अवार्डमा आयोजक वा निर्णायक सदस्य प्रत्यक्ष संलग्न रहेका फिल्मलाई अवार्डमा सहभागी गराइँदैन।

तर डी सिने अवार्डले त्यसखाले नैतिकता पनि पस्कन सकेको देखिँदैन। अवार्ड कार्यक्रमका निर्देशक प्रदीप उदयकै फिल्म अवार्डमा सहभागी रहेको छ। उनी निर्माता रहेको फिल्म ‘अधकट्टी’ सात विधामा मनोनयनमा परेको छ। लगातार आठौं वर्षमा सुन्दर नगरी पोखरामा आयोजना गर्ने घोषणा गरिए पनि डी सिनेले मनोनयन घोषणादेखि नै आयोजकको मनोमानीको छनक देखाएको छ।
इकान्तिपुर बाट जस्ताको तेस्तै

Copyright © 2012 - 2026 | All Right Reserved.