फान अवार्डमा पशुपतिप्रसाद उत्कृष्ट


नेपाल चलचित्र कलाकार संघले शनिबार राजधानीमा फान अवार्ड–०७२ सम्पन्न गर्‍यो । संघले पहिलोचोटि आयोजना गरेको अवार्डमा विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण कार्यक्रममा ०७२ सालभित्र प्रदर्शन भएका फिल्महरू प्रतिस्पर्धामा थिए । जसमध्ये ‘पशुपतिप्रसाद’ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो । पशुपतिप्रसादबाट दीपेन्द्र के खनालले उत्कृष्ट कथाकार र निर्देशकको अवार्ड पनि प्राप्त गरे । त्यसैगरी, उत्कृष्ट अभिनेताको अवार्ड भने ‘क्लासिक’बाट आर्यन सिग्देलले प्राप्त गरे भने अभिनेत्रीको अवार्ड सोही चलचित्रबाट नम्रता श्रेष्ठले प्राप्त गरिन् ।
faan-award
चर्चित कलाकर्मीको गायन तथा नृत्यका साथ सम्पन्न अवार्ड वितरण कार्यक्रममा चलचित्र तथा सञ्चारकर्मीको राम्रै सहभागिता थियो । भुवन केसीले ‘ड्रिम्स’ फिल्मका लागि नवनिर्देशकको अवार्ड जिते भने उत्कृष्ट पटकथा ‘कबड्डी कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले जिते । संवादतर्फको अवार्ड भने ‘वडा नम्बर ६’ बाट दीपकराज गिरीले प्राप्त गरे । सोही फिल्मबाट शंकर बिसीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाए । ‘प्रेमगीत’का कारण डा. कृष्णहरि बराल उत्कृष्ट गीतकार घोषित भई अवार्ड थापे । त्यसैगरी, यही फिल्मबाट अञ्जु पन्तले उत्कृष्ट गायिकाको अवार्ड पाइन् । ‘क्लासिक’ फिल्मका लागि युवराज चौलागाईंले उत्कृष्ट गायकको अवार्ड प्राप्त गरे । यही फिल्मबाट सुरेन्द्र पौडेलले सम्पादकको अवार्ड जिते । संगीतकारतर्फ भने ‘वडा नम्बर ६’बाट राजनराज शिवाकोटी उत्कृष्ट ठहरिए । द्वन्द्वतिर भने हिमाल केसीले ‘भैरव’का लागि अवार्ड पाए ।

लक्ष्मी गिरीले ‘प्रेमगीत’बाट चरित्र अभिनेत्रीको अवार्ड पाउादा रमेश बुढाथोकी ‘भाग सानी भाग’बाट उत्कृष्ट चरित्र अभिनेता ठहरिए । सञ्जय लामा र पुरुषोत्तम प्रधानले ‘ड्रिम्स’बाट उत्कृष्ट छायाकारको अवार्ड जिते । ‘ड्रिम्स’बाट साम्राज्ञीराज्य लक्ष्मी शाहले उत्कृष्ट नवअभिनेत्रीको अवार्ड जित्दा पल शाहले ‘नाइा नभन्नु ल–४’बाट नवअभिनेताको अवार्ड जिते । सहअभिनेत्रीको अवार्ड भने ‘क्लासिक’बाट रोमी घिमिरेले प्राप्त गरिन् । जितु नेपालले ‘वडा नम्बर ६’का लागि सहअभिनेताको अवार्ड जिते भने विपिन कार्कीले ‘पशुपतिप्रसाद’बाट खलनायकको अवार्ड हात पारे । अनि,उत्कृष्ट हास्य कलाकारको अवार्ड भने ‘अर्धकट्टी’बाट विल्सनविक्रम राईले प्राप्त गरे ।

निर्णायक मण्डलले सौगात मल्ललाई ‘फन्को’ फिल्मका लागि जुरी अवार्ड प्रदान गर्‍यो भने एक लाख ५१ हजार नगदसहितको दीर्घ साधना सम्मान वरिष्ठ कलाकार हरिप्रसाद रिमाललाई प्रदान गरियो ।राजेश हमाल र रेखा थापालाई दशकै लोकप्रिय अभिनेता–अभिनेत्रीका रूपमा सम्मान गरिएको कार्यक्रममा अनमोल केसीलाई वर्षकै लोकप्रिय नायकको उपमाका साथ सम्मान गरियो ।