बोर्डले निरन्तरता दियो राष्ट्रिय चलचित्र पुरस्कारलाई असार १६ गते वितरण


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र विकास बोर्डले आफ्नो बार्षिक उत्सवको अवसर पारेर हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार यस बर्ष पनि बितरण गर्ने भएको छ । पुरस्कार आफ्नो १६ औं वाषिर्कोत्सवको अवसर पारेर आउँदो असार १६ गते राष्ट्रपति भवनमा आयोजना गर्न लागेको बोर्डले जनाएको छ । एक बिज्ञप्ती जारी गर्दै पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीको हात बाट दिने जनाइएको छ । कार्यक्रममा उत्कृष्ट चलचित्रकर्मी र चलचित्रलाई पुरस्कार प्रदान गरिने छ । बोर्डले प्रत्येक बर्षको १६ असारलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ । त्यस्तै बोर्डले चलचित्र ‘पशुपति प्रसाद’ र ‘छाँया’लाई ०७२ सालको विषेश चलचित्र घोषणा गरेको छ । दिपेन्द्र के खनाल निर्देशित पशुपति प्रसाद र मनोज पण्डित निर्देशित छाँयाले सबटाईटल गरे वापत दुई लाख रुपैंया बोर्डवाट पाउने भएका छन् ।
Nepal_film_devlopment_board  cbn
०७२, बैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शन भएका मध्ये उत्कृष्ठ ठहरिएका यी चलचित्रलाई विषेश घोषणा गरिएको बोर्डले जनाएको छ । त्यस्तै बोर्डले स्नातक तहमा चलचित्र सम्बन्धी अध्ययनरत विद्यार्थीलाइ छात्रवृत्ति उपलब्ध गराएको छ । दक्ष प्राविधिक तथा चलचित्रकर्मीको कमी भएको भन्दै बोर्डले ०६१ सालदेखि चलचित्र सम्बन्धी विभिन्न विषयहरूमा स्नातक तहमा अध्यापन गराउने ओस्कार इन्टरनेशनल कलेज ‘कलेज अफ फिल्म स्टडिज’ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । बोर्डबाट नियमित रुपमा प्रकाशन हुँदै आइएको ‘चलचित्र मञ्च’ नामक पुस्तक समेत सार्वजनिक गरेको छ ।