चलचित्र पत्रकारलाई पत्रकारिता सम्मान, पुरस्कार र राहत प्रदान


रघुनाथ सापकोटा,

पुरस्कृत पत्रकारद्वय श्याम अर्याल र तुलसी गिरी भावुक र सम्मानित पत्रकार डब्बु क्षेत्री (बायाँबाट क्रमश)


जेष्ठ ७, काठमाडौं । चलचित्र पत्रकारहरुलाई सम्मान, पुरस्कार र राहत वितरण गर्दै चलचित्र पत्रकार संघ नेपालको १७ औं बार्षिक उत्सव सम्पन्न भएको छ ।

शुक्रबार राजधानीको अल्फाबिटा हाउसमा सम्पन्न कार्यक्रममा पत्रकार डब्बु क्षेत्रीलाई चलचित्र पत्रकारिता सम्मान २०७३ अर्पण गरियो भने पत्रकारद्वय श्याम अर्याल र तुलसी गिरी भावुकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा क्षेत्रीलाई दोसल्ला ओडाएर सम्मान गरियो भने पुरस्कृत पत्रकारद्वयलाई जनही २५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

सम्मानित पत्रकार क्षेत्री साढे दुई दशक देखि पत्रकारितामा छन् भने पुरस्कृत पत्रकारद्वय दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा भुकम्प पिडित पत्रकारहरुका लागि राहत वितरण समेत गरेको छ ।

चलचित्र पत्रकार संघ अन्र्तगतको ‘चलचित्र पत्रकार कल्याणकारी कोष’ले भुकम्प पिडित पत्रकारहरुका लागि राहत वितरण गरेको छ । संघका उपाध्यक्ष बिष्णु सुबेदीको नेतृत्वमा रहेको कल्याणकारी कोषले भुकम्प पिडित पत्रकारका लागिराहत स्वरुप नगद सहयोग गरेको हो ।

भुकम्पपिडित चलचित्र पत्रकारलाई राहत घोषणा गर्दै संयोजक सुबेदी, राहत प्रदान गर्दै संघका अध्यक्ष शान्तिप्रिय र राहत लिदै पत्रकार विजयरत्न तुलाधर


संघले भुकम्प आउनु अगावै सदस्य रहेका पिडितसदस्यहरुका लागि नगद २५ हजार र भुकम्प पछि सदस्यता लिएका पिडित सदस्यहरुका लागि १० हजारका दरले राहत वितरण गरेको हो ।कोषले १२ जना भूकम्प पीडित पत्रकारहरुका सहयोग प्रदान गरेको हो । सुबेदीका अनुसार उक्त रकम चलचित्रकर्मीहरुबाट नै संकलन गरिएको हो । कोषका लागि चलचित्र निर्माता रामु ढुंगाना र अभिनेत्री पल्लभी भट्टले जनही १ लाख २ हजार, नायक ध्रुब दत्त, गायक राजेश पायल राई र नायिका प्रियंका कार्कीले जनही २५ हजार सहयोग गरेका थिए । संयोजक सुबेदीकै नेतृत्वमा उक्त सहयोग रकम संकलन भएको हो ।

गतबर्ष भूकम्प आए लगत्तै पनि कोषले सदस्यहरुका लागि राहतको व्यवस्था गरेको थियो । लामो समय सम्म पनि राज्यबाट अपेक्षाकृत सहयोग नमिल्दा जीवनयापनमा सहयोग होस् भनेर फेरीपनि सहयोग प्रदान गरिएको संयोजक सुबेदीले जनाएका छन् । गत वर्ष भुकम्प आएलगत्तै सुबेदी नेतृत्वको कोषले चलचित्र बिकास बोर्डसँग सहकार्य गर्दै भुकम्प पिडित पत्रकारहरुलाई जनही १५ हजार नगद सहयोग गरेको थियो । सुबेदीका अनुसार बिभिन्न संघसस्था तथा कोषहरुसँग सहकार्य गर्दै संघले भुकम्प पडित पत्रकारहरुका लागि १ लाख भन्दा बढी सहयोग उपलब्ध गराई सकेको छ ।

सिन्धुपाल्चोकको सिन्धुकोटका भुकम्पपिडित स्थानियलाई राहत वितरण गर्दै नायिका नम्रता श्रेष्ठ, नायक आर्यन सिग्देल र पत्रकार बिष्णु सुबेदी


यस्तै सुवास इन्टटेनमेण्ट र सुवास ह्युमन रिसोर्सको सहकार्यमा कोषले गत वर्ष सिन्धुपाल्चोकको सिन्धुकोट र सिन्धुलीको दुधौलिमा भुकम्प पिडित जनताको लागि राहत समेत वितरण गरिसकेको छ । संयोजक सुबेदीका अनुसार सिन्धुकोटमा मेडिकल सेवा सहित खाद्यान्न वितरण गरिएको हो भने दुधौलिमा स्कूलका लागि आवश्यक शैक्षिक सामग्री, अस्पतालका लागि आवश्यक औषधी र खाद्यन्न सहयोग गएिको थियो ।