
काठमाडौँ। निस्वार्थ प्रेमको अतुलनीय उदाहरण बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्मानमा बनेको हिन्दी गीत ‘तेरी मेरी कहानी’को म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको छ । अर्जुन कटुवालले निर्माण गरेको म्युजिक भिडियो आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै मन पराएका थिए । बिरामी विवेकलाई सिर्जनाले दिएको प्रेमलाई धेरैले निस्वार्थ प्रेमको उदाहरणका रुपमा लिएका छन् ।
मानव कौलको शब्द रचनामा तयार भएको गीतको संगीत संयोजन गरेका कटुवालले गीतमा स्वर पनि दिएका छन् । गीतमा कटुवालसँगै पम्फा चाम्लिङ र सोनिया उपाध्यायको पनि स्वर रहेको छ । चर्चित टिकटकर वर्षा श्रेष्ठ र निमेष श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियो निर्देशन आयुष महर्जनले गरेका हुन् । सिर्जना र विवेकको प्रेमकथाले निस्वार्थ प्रेमको अतुलनीय उदाहरण प्रस्तुत गरेकाले अरुलाई पनि यसले प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो गीत बनाएको निर्माता,संगीतकार र गायक कटुवालले बताए ।


