सिनेमा र म्युजिक भिडियोमा सुर्तीजन्य पदार्थको सेवनका दृश्यको विकल्प खोज्नुपर्ने


काठमाडौं । फिल्म र म्युजिक भिडियोका दृश्यमा सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृश्य नराख्ने कुरामा जोड दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको ‘दृश्यमा सुर्तीजन्य पदार्थको प्रयोगः कथाले माग्छः’ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले यस्तो धारणा राखेका हुन्।

डा देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृश्यको विकल्प खोज्न आग्रह गरे। उनले भने, ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरो) जस्तो देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो फिल्मको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।’

सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृश्यका विकल्पमा संसारमै मानक बनाउने दृष्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे, ‘तपाईंहरु चुरोट,सुर्तीको सहारा बिना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ।’

विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनिकरण गर्न सकिने बताए। फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए। उनले थपे, ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग फिल्मबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ। यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु। जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ। त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो।’

पिःल्मका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे।

फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउँदै फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे। तर, फिल्म बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो। उनले थपे, ‘हामी जति फिल्म बनाउनेहरु छौं। यसको असर थाहा छ। तर पनि हामी प्रयोग गरिरहेका हुन्छौं। त्यसमा भने ध्यान दिनुपर्छ।’ सामान्यतया फिल्मभित्र कथाले मागेर नै यस्तो दृष्य राख्ने गरिएको पनि उनको तर्क थियो।

यसैगरी एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे। अध्ययनरअनुसन्धानलाई अघि सार्दै फिल्ममा चुरोट सेवन गरेको दृश्य देखेर सिकेको बताउनेहरुको संख्या उल्लेख्य रहेको बताए। उनले थपे, ‘जसरी अहिले फिल्म र गीतका म्युजिक भिडियोमा त्यस्ता दृष्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ। सर्जकहरुले सचेत हुनुपर्छ।’

म्युजिक भिडियो कलाकार संघका पूर्वअध्यक्ष तथा कलाकार शंकर बिसीले पहिले भन्दा अहिले दृष्यहरु कटौती गर्दै लगिएको बताए। देखासिकीमा त्यस्ता दृष्य निर्माण भइरहेको बताउँदै कलाकारमा बढ्दो सचेतनाले दृष्यमा कटौती भइरहेको उनको भनाइ थियो।

स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृष्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए। उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए। साथै सुर्तीजन्य पदार्थका विषयमा रहेका कानुनी प्रावधान समेत उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा पुर्या्इरहेको हानीबारे जानकारी दिएका थिए। कला क्षेत्रले जनस्वास्थ्यका पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.