काठमाडौं। अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन्। उनीहरुले गायिका समिक्षा अधिकारी र मोडल तथा गायक आमेश भण्डारीको स्वरमा रहेको ‘फिक्का फिक्का’ बोलको गीतमा अभिनय गरेका हुन्। सलोन र करिश्मा रियल जोडी हुन्।
प्रेमिल भावमा बगेको यो गीतमा सलोन र करिश्माको जोडीलाई अभिनय गराइएको हो। यस गीतको शब्द रचना तथा संगीत गायक भण्डारीले गरेका छन् भने म्युजिक एरेन्ज विश्व अधिकारीको छ।
गीतको शब्दमा आमेशले नै सलोन र करिश्माका लागि गीत लेखिदिएको आभास हुन्छ। यसअघि आमेशले सलोन र करिश्माको फिल्म ‘रंगी’मा गाएका थिए। यस पटक भने उनले ‘फिक्का फिक्का’बोलको गीतमा सहकार्य गरेका छन्। जुन गीतको भिडियो निकै सुन्दर बनेको देखिन्छ। यस गीतको भिडियोलाई कोरियोग्राफी दावा बल तामाङले गरेका छन् भने निर्देशन कविराज गहतराजले गरेका छन्।
सौरभ लामाको टिमले खिचेको यो भिडियोको सम्पादन दिन्सन शाहले गरेका छन्। यो गीतको भिडियो गायिका समिक्षा अधिकारी कै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।