‘कार्की साइँला’को स्क्रिप्ट पूजा सम्पन्न


काठमाडौं। नयाँ नेपाली चलचित्र ‘कार्की साइँला’ को स्क्रिप्ट पूजा गर्दै सोमबार कोटेश्वरको महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरिएको छ।

राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्रमा जितु नेपाल, वर्षा सिवाकोटी, गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर र मनिल तामाङको अभिनय रहनेछ।

मुहूर्त सटमा एक्सन निर्देशक जनकदीप पराजुलीले एक्सन बोलेका थिए। क्ल्याप निर्माता सुशील पोखरेलले दिएका थिए भने क्यामेरा डम्बरबहादुर राईले स्विच अन गरेका थिए। निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए।

कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्। निर्माता बालकुमार राई हुन्।

चलचित्रमा द्वन्द्व निर्देशन राजु किराँती, संगीत बाबुल गिरी, नृत्य निर्देशन कमल राई, गीत तथा सह–निर्देशन जीवननाथ गौतम र पटकथा तथा संवाद अजित लामिछानेले सम्हाल्नेछन्।

निर्देशक बस्नेतका अनुसार चलचित्र एक भरियाको कथामा आधारित छ, जसले ग्रामीण जीवनशैली र भुइँस्तरका व्यक्तिहरूको संघर्षलाई चित्रण गर्नेछ।

चलचित्रको छायांकन आगामी वैशाख २० गतेदेखि धनकुटा जिल्लाका विभिन्न स्थानमा सुरु हुने निर्माण टिमले जनाएको छ। केही भूमिकाका लागि कलाकार छनोट प्रक्रिया अझै चलिरहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.