‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक आम नेपालीको संघर्ष बोकेको क


काठमाडौं। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकार खगेन्द्र लामिछानेलाई विशेष रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकारहरूलाई पनि सशक्त रुपमा देखाइएको छ।

सार्वजनिक टिजरले काठमाडौं शहरमा गाउँबाट आएका निम्न वर्गीय नेपालीहरूको संघर्ष, पीडा र पारिवारिक विछोडको कथालाई उजागर गरेको छ। पशुपतिको किनारमा दुःखी दुई पात्रबीचको संवादमार्फत जीवनका पीडादायक पाटाहरू प्रस्तुत गरिएको छ। “पृथ्वी एउटा डेराजस्तै हो, जहाँ सबैले भाडा तिरेका छन्,” भन्ने संवादमार्फत टिजरले गहिरो सामाजिक सन्देश दिएको छ।

टिजरले पारिवारिक माया, विछोड र मानसिक पीडालाई उजागर गर्दै दर्शकलाई भावनात्मक बनाउने संकेत दिएको छ। यस्तै, टिजरमार्फत चलचित्रले गम्भीर कथा भन्ने संकेत पनि दिएको छ।

यसअघि निर्माण पक्षले चलचित्रका मुख्य पात्रहरूलाई विशेष स्थान दिँदै तीनवटा पोस्टर सार्वजनिक गरिसकेको थियो।

जेठ २ गते प्रदर्शनमा आउन लागेको यस चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा कर्णाली ब्लुज, एक्लो र फिरफिरे जस्ता चर्चित उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन्। यो उनको पहिलो पटक चलचित्र लेखन हो।

कृष्णबहादुर थापाले छायांकन गरेको चलचित्रका निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माताको रुपमा युवराज कार्की रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.