काठमाडौं । फुर्वा शेर्पाको एक मात्र परिचय छैन । उनी खासमा के हुन् ? टेलिभिजनकर्मी, टिभी शो प्रोड्युसर, म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक धेरैवटा परिचय छन् उनका । यति मात्र हैन, उनी गायक समेत हुन् । उनले केही गीतमा स्वर समेत दिएका छन् ।
लामो समयदेखि टेलिभिजन र फिल्म क्षेत्रमा सक्रिय उनले हालै एक पञ्जाबी गीतको भिडियो निर्देशन गरेका छन् । बब्बी नटियानको शब्द र सरव सिंहको स्वर तथा संगीत रहेको ‘खर्चा मार दा’ बोलको गीतमा फुर्वाले कमर र इस्राए जेब्बारीलाई अभिनय गराएका छन् । नितिन चन्दले दुबईमा खिचेको गीतको भिडियो निकै स्तरीय लाग्छ । नितिन आफैं पनि चलेका म्युजिक भिडियो निर्देशक हुन् । यो गीतको सम्पादन पनि नितिनले नै गरेका छन् ।
पञ्जाबी संगीत उद्योगको चल्तीको नाम हो सरव सिंह । गीत भारतमै रेकर्डिङ गरिएको हो । फुर्वाले म्युजिक भिडियो छायांकनका लागि यूएईको दुबई सहरलाई रोजे । त्यहाँका आकर्षक लोकेसनमा नितिन चन्दले पनि आफ्नो कौशल देखाएका छन् ।
‘छायांकनमा अत्याधुनिक क्यामेरा, सिनेम्याटिक लाइटिङ प्रविधि तथा ग्ल्यामरस डिजाइनको प्रयोग गरिएको छ, जसले भिडियोमा प्रभावशाली लुक्स दिएको महसुस हुन्छ,’ फुर्वाले भने ।
भिडियोमा कलाकारहरुले विभिन्न देशको प्रतिनिधित्व गर्छन् । कमर भारतीय पञ्जाबी हुन् भने इस्राए मोरक्कन नागरिक हुन् । यस्तै कोरियोग्राफर सुरेश कुमार दक्षिण भारतका हुन् । कोरस कलाकार पनि विभिन्न देशका छन् ।
फुर्वा ‘खर्च मार दा’ गीतले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने ढोका खोलिदिएको बताउँछन् । ‘संगीतको भाषा हुँदैन । गीतको भाव, लय र ऊर्जा नै यस्तो थियो, जसले सबै टोलीलाई एउटै लयमा बाँध्यो । चाहे भाषा फरक होस् वा संस्कृति,’ उनी भन्छन्, ‘संगीतले सबैलाई जोड्ने काम गर्छ ।‘ गएको इदको छेको पारेर ‘गोल्डेन आवर फिल्म प्रोडक्सन’ युट्युब च्यानलमा यो गीत सार्वजनिक गरिएको हो ।