नोरा फतेहीको प्रस्तुति जेष्ठ ३ गते काठमाडौंमा


काठमाडौं। बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएकी छन्। ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी जेष्ठ ३ गते काठमाडौं आउन लागेकी हुन्।

कार्यक्रम काठमाडौंको बौद्ध टुसालस्थित हायात ग्राउन्डमा आयोजना हुनेछ। वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिको आयोजनामा हुन लागेको सो कार्यक्रम शिक्षाबाट बञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना गर्न लागिएको हो। कार्यक्रमको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ।

इभेन्ट म्यानेजर मनिष कार्कीका अनुसार नोरा फतेहीसँगै मुम्बईबाट २० जनाभन्दा बढी कोरियोग्राफर तथा डान्सर पनि प्रस्तुति दिन नेपाल आउनेछन्। उनका अनुसार नेपालमा यसअघि भएका अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति मध्ये यो कार्यक्रम सबैभन्दा व्यवस्थित र भव्य हुने दाबी गरिएको छ।

कार्यक्रममा नेपाली कलाकारहरूको समेत प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष देव मगरले जानकारी दिए। उनले नेपालका साथै भारतका सीमावर्ती क्षेत्रबाट पनि दर्शक आकर्षित हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको टिकट दर रु २ हजारदेखि १६ हजार रुपैयाँसम्म तोकिएको छ। टिकट दर क्रमशः सामान्य, स्ट्यान्डर्ड, भिआइपी र भीभीआइपी श्रेणीअनुसार निर्धारण गरिएको आयोजकले जनाएको छ।

नोरा फतेहीले बलिउडका ‘दिलबर दिलबर’, ‘ओ साकी साकी’, ‘कुसु कुसु’ र ‘नाच मेरी रानी’ लगायतका चर्चित गीतमा अभिनय तथा नृत्य गरेकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.