काठमाडौ । नायक राजेश हमालको आवाजमा फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सम्पन्न भएको छ। निर्देशक दिवाकर भट्टराईका अनुसार अन्य कलाकारहरूको पनि डबिङ सकिएको छ र केही दिनमै फिल्म तयार हुनेछ।
डबिङका क्रममा हमालले बोलेका संवादमध्ये एकदमै दमदार लाइन रहेको छ – ‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ या साँचिकै पागल?’। हमाल फिल्मलाई लिएर उत्साहित देखिए। उनले भने, ‘दर्शकले मलाई यस पटक फरक अवतारमा देख्नुहुनेछ। यो फिल्म दर्शकका लागि सरप्राइज हुनेछ।’
फिल्मको पहिलो पोस्टर र प्रदर्शन मिति भोलि सार्वजनिक गर्ने तयारी छ। ‘नरसिंहाः अवतार’मा हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारीलगायत कलाकारको अभिनय छ।
फिल्मका छायाँकार राजु विक्रम थापा हुन् भने कोरियोग्राफी कविराज गहतराज र माइकल चन्दले गरेका छन्। चन्द्र पन्तले एक्सन निर्देशन गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ र साहिल खानको छ। संगीत शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको रहेको छ।
दिवाकर भट्टराइकै लेखनमा बनेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले लगानी गरेका छन्। निर्माता नेम महर्जन हुन् भने करण सिंह प्रोडक्सन डिजाइनर र बसन्त अधिकारी एसोसियट निर्देशकका रूपमा छन्।
राजेश हमाल आठ वर्षपछि यो फिल्ममार्फत कमब्याक गर्दैछन्। उनका फ्यानहरू उनकाे पुनरागमनलाई लिएर निकै उत्साहित छन्। हमालले पनि यसलाई आफ्नो महत्वाकांक्षी प्रोजेक्टको रूपमा लिएका छन्।