फरक फरक जनरामा बनेको ‘द्रौपदी’ र ‘११ः ५५’ प्रदर्शनमा


काठमाडौँ । आज शुक्रवारबाट २ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ र केशव पाण्डे निर्देशित ‘११ः ५५’ देशभर प्रदर्शनमा आएको हो ।यी दुई वटै फिल्म फरक फरक कथामा बनेका हुन् ।

ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ कर्णालीको बहुपतिप्रथाको कथामा निर्माण भएको हो । फिल्ममा कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।फिल्ममा कथा, पटकथा, संवाद र गीतसमेत निर्देशन आचार्यको छ । फिल्मको शुक्रवार बिहान प्रेस शो गरिएको थियो । शो मा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

केशव पाण्डेको निर्देशन रहेको फिल्म ‘११ः ५५’ सस्पेन्स क्राइम थ्रिलर जनरामा बनेको हो । फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल लगायतको अभिनय छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीको छायाङ्कन रहेको फिल्मको सुवासराज काफ्ले प्रोडक्सन डिजाइनर हुन् । विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।