आफ्नो लागी घर होइन फुटबल एकेडेमी बनाउने एन्जिलाको चाहना


काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको घर बनाउने चर्चा यति बेला सर्वत्र छ । उनी मुख्य भूमिकामा रहेको उनको आफ्नै कथामा बनेको सिनेमा ‘अञ्जिला’ रिलिज भएसँगै उनको घर बनाउने चर्चा यतिबेला चर्चामा छ ।

निर्माता प्रेम श्रेष्ठले एन्जिलाको घर बनाइदिन्छु भनेका छन् । सिनेमा राम्रोसँग चले त्यसबाटै आएको पैसाले एन्जिलालाई घर बनाइदिने सिनेमा नचले आफ्ने हिसाबले घर बनाइदिने प्रेमले बताए ।

‘मैले बचन दिएको कुरा हो, म जसरी पनि पूरा गर्छु । सिनेमा चलेन भने पनि बनाइदिन्छु,’ प्रेम श्रेष्ठ भन्छन्, ‘उनको घर बनाउन कसैबाट आए सहयोग लिन्छु, नभए आफ्नै सम्पत्ति बेचेर भए पनि बोलेको बचन पूरा गर्छु ।’

तर, मिलनसँग एन्जिलाले अर्को प्रस्ताव राखेकी छन् । उनले स्पोर्टस एकेडेमी खोल्ने प्रस्ताव गरेकी हुन् । आफूले जस्तै फुटबल खेल्न चाहने बालिकाले दुःख नपाउन् भनेर फुटबल एकेडेमी खोल्ने सोचमा उनी पुगेकी हुन् ।

एन्जिलाले सपना पूरा गर्न उनले जुन दुःख भोगिन्, त्यस्तो दुःख अबका बालिकाले भोग्नु नपरोस् भन्ने उनको चाहना रहेको छ । ‘मलाई अब आत्मविश्वास पनि आयो । आफैँ केही गरेर बाँच्न सक्छु भन्ने आँट पलाएको छ । घर भए पनि नभए पनि हुन्छ, तर फुटबल एकेडेमी भयो भने मैलेजस्तो दुःख अब आउने बहिनीहरूले पाउने थिएनन् भनेकी छन्,’ एन्जिलालाई उदृत गर्दै अन्जिला निर्देशक मिलन चाम्स भन्छन्, ‘मलाई उनको यो प्रस्ताव साँच्चै मन पर्यो । यो सोच्नु नै वास्तवमा महानता हो ।’

उनले आफ्नो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहेकी छन् । यसमा निर्माता प्रेम श्रेष्ठ संग सल्लाह गर्ने मिलनले बताएका छन् ।

फागुन २९ गतेबाट रिलिज भएको सिनेमा अहिले राम्रोसँग चलिरहेको छ । गत आइतबार वितरक करण श्रेष्ठले सिनेमाले बिहीबार, शुक्रवार र शनिवार २ करोड ७ लाख ग्रस कलेक्सन गरेको जानकारी दिएका थिए ।

‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बोको बायोपिक हो । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.