चलचित्र ‘कर्मा’ को एक्सन प्याक टिजर सार्वजनिक


काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच टिजर सार्वजनिक गरेको हो ।

कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ ।

टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेल हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ ।’

यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा लुकाएको छ । तर, एक्सन खुलेर देखाएको छ । बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ । टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो ।

यस्तै यो सिनेमामा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको पनि अभिनय रहेको छ । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ । ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।