‘मितज्यू’ को मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित


काठमाडौँ। अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’ को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन् ।

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ । नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे । उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्ष छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को-को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमा आगामी वर्षको चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।